धनुषा । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको यात्रु बसमा एक भारतीय नागरिकको शव फेला परेको छ । मधेश प्रदेशको मंगलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा भारतको मधुवनी जिल्ला सिम्रीटोल निवासी करिब ७० वर्षीय जगदीश यादवको शव फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार बस लालगढमा यात्रुहरू शौचालयका लागि ओर्लिएको समयमा मृतक यादवलाई बसभित्र मृत अवस्थामा भेटिएको हो । उनी सोमबार साँझ काठमाडौंबाट जटहीका लागि उक्त बसमा चढेका थिए ।
मृत्युको कारण हालसम्म खुल्न नसकेको बताइएको छ । प्रहरी निरीक्षक यादवका अनुसार शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ । घटना बारे थप अनुसन्धान भइरहेको छ भने बसलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ ।




