एजेन्सी । बलिउड कलाकारहरू फिल्ममार्फत आफ्नो करियर बनाउने बित्तिकै विभिन्न ब्रान्डका ब्रान्ड एम्बेसडर पनि बनिरहेका छन् । करीना कपुर, मलाइका अरोरा, कट्रिना कैफदेखि कार्तिक आर्यनसम्मका कलाकारहरूको नाम हालका प्रमुख ब्रान्डहरूको सूचीमा समावेश छन् ।
हालै, कन्डम कम्पनी म्यानफोर्सका संस्थापक र प्रबन्ध निर्देशक राजीव जुनेजाले आफ्नो कम्पनीका ब्रान्ड एम्बेसडरहरूको चयन बारे कुरा गर्दै केही महत्वपूर्ण खुलासाहरू गरेका छन् । उनले कन्डमको विज्ञापनका लागि जान्हवी कपूरलाई उपयुक्त विकल्पको रूपमा अघि सार्दै भने, ‘कन्डमका लागि जान्हवी कपूर सबैभन्दा राम्रो विकल्प हुन् ।’
उनले रणवीर कपूर र लक्ष्य लालवानीको नाम पनि लिएका थिए, तर यी कलाकारहरूले कम्पनीको अफर अस्वीकार गरेका छन् । राजीव जुनेजा अझ खुलाउँदै भने, ‘कार्तिक आर्यनलाई सन्नी लियोनीको स्थानमा राख्नुको कारण पुरुष पक्षलाई ध्यानमा राखेर निर्णय गरिएको हो ।’ सन् २०२३ मा, कार्तिक आर्यनलाई कन्डम कम्पनीको ब्रान्ड एम्बेसडर चयन गरिएको थियो र त्यसपछि उनले सन्नी लियोनीको स्थान सम्हाले ।
यसका साथै, राजीव जुनेजाले प्रेग्नेंसी टेस्ट किटका लागि ब्रान्ड एम्बेसडरको चयन पनि चर्चा गरे । उनले अनुष्का शर्मालाई यसका लागि उपयुक्त विकल्प ठहराए, तर यदि अर्को अभिनेत्रीको चयन गर्ने हो भने दीपिका पादुकोणलाई छनोट गर्न सक्ने विचार व्यक्त गरे । तर उनले दीपिकालाई यस विषयमा सोध्नु आफ्नो हैसियतभन्दा माथिको कुरा भएको पनि बताए ।






