धनुषा । कमला नगरपालिका २ स्थित जनहित मावि माठि झिठकैयामा आइतबार बिहान शिक्षक र प्रधानाध्यापकबीच पेस्की रकमको विषयलाई लिएर विवाद भएको छ । जनहित माविका प्रधानाध्यापक जगरनाथ यादव र निमावि राहतका शिक्षक रोहित यादवबीच शिक्षक यादवले मागेको पेस्की रकम नदिँदा विवाद उत्पन्न भएको हो ।
शिक्षक रोहित यादवका अनुसार उनकी आमाको निधन भएको कारण उनले क्रिया खर्चका लागि प्रधानाध्यापक जगरनाथ यादवसँग ५० हजार रुपैयाँ पेस्की माग गरेका थिए । तर प्रधानाध्यापकले रकम दिन आलटाल गरेपछि विवाद उत्पन्न भएको उनले बताए ।
शिक्षक यादवले भने, ‘मेरो आमा बित्नुभएको छ, सोही कामका लागि क्रिया खर्च मागेको हुँ । तर प्रधानाध्यापकले रकम दिन आनाकानी गरेपछि विवाद भएको हो । कुटाकुट भने भएको छैन, तर घम्साघम्सी भएको हो ।’
उनका अनुसार प्रधानाध्यापक यादवले आफ्ना समर्थक शिक्षकहरूलाई सहज रूपमा पेस्की रकम दिने गरेका छन्, तर उनलाई भने क्रिया खर्चका लागि समेत रकम दिन आनाकानी गरे ।
यता प्रधानाध्यापक जगरनाथ यादवले पनि पेस्की रकमको विषयमा विवाद भएको स्वीकार गरेका छन् । उनले भने, ‘मसँग शिक्षक रोहितले ५० हजार रुपैयाँ क्रिया खर्चबापत पेस्की मागेका थिए । तर तत्काल रकम नभएकाले २५ हजार रुपैयाँ दिने प्रस्ताव गरेको थिएँ । यही विषयमा शिक्षक रोहित यादवले विवाद गरेका हुन् ।’
प्रधानाध्यापक यादवले शिक्षक रोहित यादवले आफूसँग उच्छृङ्खल व्यवहार गर्दै आफ्नो कार्यकक्ष समेत बन्द गरेको आरोप लगाए । यस घटनाले शैक्षिक संस्थाभित्र आर्थिक कारोबारका प्रक्रियाहरूमा स्पष्टता र पारदर्शिताको आवश्यकता प्रति पुनः प्रश्न उठाएको छ ।




