सिरहा । सिरहाको लहान नगरपालिका १७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रको पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएका छन् र बजेटको अभावमा उचित संरक्षण हुन सकेको छैन ।
पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट ६ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको संरक्षणमा ध्यान दिएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्ने संभावना छ ।
देवीदह सामुदायिक वन भित्र फैलिएको ६ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रको संरक्षण र सबर्द्धनका लागि निरन्तर पहल गरिएको भएपनि उल्लेख्य प्रगति हासिल हुन सकेको छैन ।
पोखरी धार्मिक र ऐतिहासिक दृष्टिले प्रसिद्ध रहेकोले मेला र चाडबाडका अवसरमा यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । भक्तजनको विश्वास छ कि यहाँ भाकल गरे मनोकाङ्क्षा पुरा हुने र रोगव्याधि हट्नेछ ।
तर, बजेटको अभावमा पोखरी र यसका संरचनाहरुको संरक्षण गर्न समस्या उत्पन्न भएको छ । पोखरीमा रहेका डुङ्गामध्ये दुई मात्र सञ्चालनमा रहेका छन् ।
नेपालका प्रथम राष्ट्रपतिद्वारा भ्रमणको क्रममा ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’अन्तर्गत एक करोड ५९ लाख बजेट विनियोजन भएको थियो, जसबाट पोखरी परिसरमा रामजानकी मन्दिर, खानेपानी व्यवस्थापन र अन्य केही संरचना बनेका छन् ।
नेपाल पर्यटन बोर्डसँग २०७७ सालमा ५ करोड २२ लाखको सम्झौता भएको थियो, जसअनुसार पोखरीको संरक्षण र सौन्दर्यकरणका लागि योजना बनाइएको थियो । तर, नगरले आफ्नो तर्फबाट ३० प्रतिशत जिम्मेवारी नबोकेको कारण सडक कालोपत्रे र अन्य संरचनाहरू अघि बढ्न सकेका छैनन् ।
वडाअध्यक्षले पनि क्षेत्रको विकासका लागि सक्दो सहयोग गरिरहेको बताएका छन्, तर वडाका स्रोत र साधन सीमित भएकोले समस्या जस्ताको त्यस्तै छ । चुरे क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको अवस्थामा यस प्रकारका पोखरीहरूको संरक्षण र सम्बर्द्र्धनका लागि तीनै तहका सरकारलाई प्रथमिकता दिनुपर्ने आवश्यकता छ ।




