अँगालेर दुवै हातले आकाशलाई
घुमाउरा सडकमाथिका पाइलाहरू
लर्खराउँदै गरेका अनगन्ती प्रहर ।
जीवनको संज्ञालाई तताउन नसकेको
फुस्रो प्रतिश्रुतिका हरफहरू
लम्पसार परेका छन् भुइँभरि
उत्तानो परेर हरियो रहर
सपनाको निलो आकाश ।
अब कुनै कथाको प्रसङ्ग हुँदैन
सुनिदैनन् कविताका शब्द र स्वरहरू
रात हुँदैन रात जसरी सुतेर
दिनले कोल्टे फेर्नेछ अँध्यारोसित
फर्किनै असम्भव
पुरानो पुल नाघेर जीवन
टाढा पुगिसकेको छ
जीवनको स्रोत
डढेलो लागेको
जङ्गलबाट निस्किदैनन्
सुनौलो सपनाका
स्वर्णिम हरफहरू उफ्रिदै ।
व्यवस्थाको दाँतले टोकेर मानिसलाई
नचिनिने अद्भुत अनुहार मात्र
सुनिदैन चित्कार अथवा क्रन्दन
घाँटीबाट निस्किन नसकेको अस्फुट भाषा ।
विचारहरू चेपिएर ढुङ्गामा
पानीले पखाल्न नसकेका निर्मम हातहरू
रगतका चोक्टाहरू जमेर बतासमा
छर्किन्छन् हाडका बीउहरू
सुकिसकेका गल्लीहरूमा ।
कूनै मानिस छैनन याहा
सपना पूर्ण भएका
कूनै समाज पाइँदैन
अपभ्रंश नभएको
कुनै देश हुँदैन आतङ्कित नभएको
अवशेष मात्र यन्त्र-मानवको गतिशीलता
सुनिनेछ तृष्णातुर शब्दहरूको चित्कार ।
निर्विरोध हुरी
नि:सङ्ग आकाश
पथभ्रष्ट यात्री
फुस्रो सपना
काँढाले छोपेका फूलका पत्रहरू ।
दुवै हात उचालेर
त्यसबेला प्रार्थना गर्नेछन् मानिसहरू
“एउटा टुक्रा नीलो आकाश देऊ
एक फाँको न्यानो घाम देऊ”
निर्वाक युगको सुदीर्घ परिक्रमा
समय ! कहाँ छ तेरो नयाँ ठेगाना ?
छातीमा अँटाउन नसकेको सङ्ग्राम
उत्तप्त समयभित्र डुबिसकेको
हत्केलाभरि चिसो घाम
सपना भरिको निलो आकाश ।




