जनकपुरधाम । जनकपुरधाम हिन्दू धर्मावलम्बीहरूको प्रमुख धार्मिकस्थलमध्ये एक हो । राजा जनकको नामबाट नामकरण भएको यो स्थल माता जानकीको जन्मभूमि भएकाले विशेष रूपमा प्रसिद्ध छ । भक्तजनहरू दर्शन तथा पूजनका लागि यहाँ पुग्छन्, तर जानकी मन्दिर परिसर र वरपरको सफाइ अवस्था प्रति धेरैले असन्तोष व्यक्त गरिरहेका छन् ।
देशका विभिन्न ठाउँहरू तथा छिमेकी राष्ट्रबाट भक्तजनहरू दर्शनका लागि जनकपुरधाम आउँछन् । तर, मन्दिर परिसरमा जताततै फोहर देख्दा धेरैले असहज अनुभव गर्ने गरेको बताएका छन् । धार्मिक यात्राको क्रममा जनकपुरधाम पुगेका केही भक्तजनहरूले मन्दिर क्षेत्रमा सफाइको अभाव रहेको महसुस गरेका छन् । उनीहरूले धार्मिकस्थललाई स्वच्छ राख्न आवश्यक ध्यान नदिएको गुनासो गरेका छन् ।
त्यस्तै, परीक्षा दिन जनकपुरधाम पुगेका एक युवतीले विवाहमण्डप अवलोकन गर्दै मन्दिर परिसरमा प्लास्टिकका बोतल, सुर्तीजन्य पदार्थको खोल तथा अन्य फोहर बिखण्डित अवस्थामा रहेको बताइन् । धार्मिक स्थल यस्तो फोहर हुनु राम्रो होइन भन्ने प्रतिक्रिया धेरैले दिएका छन् ।
पहिलो पटक जनकपुरधाम आएका केही आगन्तुकहरू पनि सफाइको स्थिति अपेक्षाभन्दा फरक रहेको बताउँछन् । जनकपुरधाम धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मात्र नभई मधेस प्रदेशको राजधानी समेत भएकाले यसको वातावरण अझ व्यवस्थित हुनुपर्ने आवाज उठ्दै आएको छ ।
जानकी मन्दिर वरपर सडक पेटीमा व्यापार गर्ने केही स्थानीयहरूले फोहोर व्यवस्थापनको जिम्मेवारी सरोकारवाला निकायको भएको र उनीहरूले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
जनकपुरधामका प्रमुख स्थानहरूमा जानकी मन्दिर, रामानन्द चोक र बसपार्क प्रमुख छन्, जहाँ दैनिक हजारौंको संख्यामा मानिसहरू आउजाउ गर्छन् । टाढाबाट आउने पर्यटकहरू यी स्थानमा पुग्छन्, तर यहाँको फोहोर देख्दा उनीहरूमा नकारात्मक धारणा बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
स्थानीयबासी तथा पर्यटकहरूले धार्मिकस्थल सफा सुग्घर हेर्ने अपेक्षा राखेका छन् । सम्बन्धित निकायले दायित्वबोध गरी आवश्यक सुधार कदम चाल्नु अपरिहार्य देखिन्छ ।




