रौतहट । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादतीका कारण सर्लाहीका एक युवकले खुट्टा गुमाउनु परेको घटना प्रकाशमा आएको छ । नेपाली भूमिमा प्रवेश गरी एसएसबीका जवानले गरेको अन्धाधुन्ध लाठी प्रहारबाट सर्लाही बलरा नगरपालिका ३ का महेन्द्र रायका १८ वर्षीय छोरा गोलु राय यादवको खुट्टा गुमिएको पीडित परिवारले जनाएको छ ।
गोलु राय यादव तीन दिनअघि, फागुन ७ गते (मंगलबार) बिहान ११ बजे सीमा क्षेत्रमा रहेको भारतीय बजार बसबिट्टाबाट घरायसी सामान चामल, चिनी लिएर बीआर ३० टी ९५५३ नम्बरको मोटरसाइकलमा घर फर्किरहेका थिए ।
सोही क्रममा सीमामा तैनाथ एसएसबीका जवानहरूले जाँच गर्न उनको मोटरसाइकल रोक्न खोज्दा तीव्र गतिका कारण नरोकिएपछि जवानहरूले अन्धाधुन्ध लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
एसएसबीले उनलाई लखेडै नेपाली भूमिमा प्रवेश गर्दा गोलु मोटरसाइकलसहित लडेका थिए । लडेपछि खुट्टा भाँचिएको अवस्थामा पनि एसएसबीले लाठी प्रहार गर्न जारी राखेपछि स्थानीयले विरोध गरे । विरोध बढेपछि एसएसबीका जवानहरू भारतीय भूमितर्फ भागेको पीडितले बताएका छन् ।
गम्भीर अवस्थामा रहेका गोलुलाई तत्काल एम्बुलेन्समार्फत वीरगञ्ज लैजाँदा त्यहाँ उपचार सम्भव नभएको भन्दै चिकित्सकहरूले ललितपुरस्थित बी एन्ड बी अस्पतालमा पठाएका थिए ।
बी एन्ड बी अस्पतालका चिकित्सकहरूले जाँच गर्दा उनको खुट्टाको भास्कुलर नसा च्यापिएर गम्भीर अवस्थामा पुगेको बताउँदै दायाँ खुट्टा काट्नु परेको पीडितका पिता महेन्द्र राय यादवले दु:ख व्यक्त गरेका छन् । हाल गोलु रायको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । पीडित परिवारले घटनामा संलग्न एसएसबीका जवानहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले घटनाको पुष्टि गरेका छन् । उनले घटना बारे मौखिक जानकारी प्राप्त भएको तर औपचारिक रूपमा लिखित जानकारी नआएको तथा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
यसैबीच, एसएसबीको ७१ औं बटालियनका भ्वाइस कमान्डेन्ट विश्वजित तिवारीले न्युज कारखानासँग कुरा गर्दै बसबिट्टा बजारबाट सामान लिएर फर्किरहेको नेपाली युवकको मोटरसाइकल दशगज्जा क्षेत्रमा दुर्घटनामा परेको र त्यसकै कारण खुट्टा भाँचिएको जानकारी आएको बताएका छन् ।
उनले उक्त घटना एसएसबीको २० औं बटालियन खटिएको क्षेत्रमा भएको भन्दै जवानहरूको ज्यादती भएको हो कि होइन भन्ने बारे अफिसरसँग सोधपुछ तथा अनुसन्धान भइरहेको जानकारी दिए ।




