रौतहट । प्रादेशिक अस्पताल गौरबाट निजी अस्पतालमा रेफर गरिएका एक १८ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको छ । मृतक गौर नगरपालिका ३ का लालु अधिकारी रहेको प्रहरीले जनाएको छ ।
शनिबार पेट दुख्ने समस्या भएपछि लालुलाई गौरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । काका देवेन्द्र अधिकारीका अनुसार अस्पतालका चिकित्सक डा. घनश्याम ठाकुरले प्रारम्भिक परीक्षणपछि आन्द्रा फुटेको आशंका गर्दै आवश्यक सुविधाको अभावका कारण उनलाई सेन्टर अस्पताल गौरमा रेफर गरेका थिए ।
शल्यक्रियापछि बिग्रिएको थियो अवस्था
डेवेन्द्र अधिकारीका अनुसार सेन्टर अस्पतालमा डा. पङ्कज साहसँग सम्पर्क गरेपछि लालुको आन्द्राको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि केही समयमै लालुको अवस्था गम्भीर बनेको र तत्कालै उनलाई वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो । तर, कलेजका चिकित्सकले राति ११ बजे लालुलाई मृत घोषित गरेका थिए ।
चिकित्सकमाथि लापरवाहीको आरोप
लालुको मृत्यु भएपछि शल्यक्रियामा संलग्न सेन्टर अस्पताल गौरका चिकित्सक डा. पङ्कज साह, डा. फिरोज अन्जुम तथा अन्य स्वास्थ्यकर्मी सम्पर्कविहीन बनेको काका देवेन्द्र अधिकारीले बताए । उनले प्रादेशिक अस्पतालले सरकारी स्वास्थ्य संस्थामा रेफर गर्नुको सट्टा निजी अस्पतालमा पठाउनु र निजी अस्पतालका चिकित्सकले शल्यक्रिया बिगार्नुले लापरवाही भएको शंका उत्पन्न गराएको बताए ।
छानबिन र प्रदर्शन
घटनापछि मृतकका आफन्तले दोषीमाथि कानूनी कारबाहीको माग गर्दै प्रादेशिक अस्पताल गौर र सेन्टर अस्पताल गौरमा प्रदर्शन गरेका थिए । प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मुरारी ठाकुरले अस्पतालबाट नारायणी अस्पताल रेफर गर्नुपर्नेमा निजी अस्पतालमा पठाइनु अनुसन्धानको विषय रहेको बताए ।
पीडित परिवारले न्यायको माग गर्दै दोषी चिकित्सकमाथि कारबाही गर्न आग्रह गरेका छन् । अस्पताल प्रशासनले छानबिन गरी दोषी उपर आवश्यक कारबाही गर्ने आश्वासन दिएपछि मृतकको शव बुझी अन्त्येष्टि गरिएको छ ।




