वीरगंज । पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरस्थित कलश क्याटल फार्मिङ प्रालिमा गाईहरू भोकै मर्न बाध्य भएका छन् । मुलुककै ठूलो गाई फार्म भनेर प्रचार गरिएको यो फार्मका सञ्चालकहरूको लापरवाहीका कारण गाईहरूले न आहारा पाए न पानी । सञ्चालन पक्ष बेपत्ता छ, फार्मका कर्मचारीहरूले तलब नपाएको भन्दै काम छाडेका छन् । विद्युत् लाइन काटिएपछि पानी समेत उपलब्ध छैन । परिणामस्वरूप निर्दोष गाईहरू तड्पेर ज्यान गुमाउन बाध्य भएका छन् ।
फार्म सञ्चालकहरूको गैरजिम्मेवारी
फार्म सञ्चालनका लागि जिम्मेवार ईश्वरलाल जोशी, श्यामवदन यादव र गुरु भट्टले आपसी विवाद तथा व्यवस्थापकीय कमजोरीका कारण फार्मलाई चरम दुर्गतिको अवस्थामा पुर्याए । गाईहरूको उचित हेरचाह नगर्नु, आवश्यक बजेट व्यवस्थापन नगर्नु र बैंकहरूसँग सहकार्य कायम राख्न नसक्नु उनीहरूको गैरजिम्मेवारीपन दर्शाउँछ । गाईलाई फार्ममा बाँधेर घाँसपानी नदिई मर्न बाध्य पार्नु भवितव्य होइन, हत्या हो । यस्तो लापरवाहीमा उनीहरू मात्र होइन, सम्बन्धित निकायहरू पनि दोषी देखिन्छन् ।
विद्युत् प्राधिकरणको अमानवीय निर्णय
फार्मको गाईहरू पानी नपाएर मर्दै गर्दा विद्युत् महसूल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काट्नु अमानवीय निर्णय हो । बिजुली काटिएपछि पानी अभाव झन् चर्कियो, जसले गर्दा गाईहरू छिटो मर्न थाले । यो घटनाले इतिहासको नालापानी किल्लामा अंग्रेजले पानीको मुहान बन्द गरिदिएको झल्को दिन्छ ।
कर्मचारी र स्थानीय सरकारको भूमिकामाथि प्रश्न
फार्मका कर्मचारीहरूले आफ्नो तलब नपाएको गुनासो गर्दै काम छाडे । तर, कानूनी उपचार खोज्नुको सट्टा उनीहरूले निर्दोष गाईहरूको ज्यान जोखिममा पारेर आफ्नो जिम्मेवारी त्यागे । यो घटनामा ठोरी गाउँपालिकाको भूमिकामाथि पनि गम्भीर प्रश्न उठ्छ । महीनौंदेखि गाईहरू भोकै मरिरहेका थिए, तर पालिका नेतृत्व मूकदर्शक बनिरह्यो । समयमै हस्तक्षेप गरिएको भए २५ वटा गाईको मृत्यु रोक्न सकिन्थ्यो ।
बैंकहरूको भूमिकामाथि प्रश्न
नबिल बैंक र ज्योति विकास बैंकले ३२ करोड लगानी गरे, तर जब फार्म संकटमा पर्यो, थप लगानी नगरी चुपचाप बसे । सञ्चालकहरूको भनाइअनुसार, चालू पूँजीको अभावकै कारण गाईहरू भोकै मर्न बाध्य भए । बैंकहरूले समयमै पहल गरेको भए यो दुर्दशा रोक्न सकिन्थ्यो ।
गाईको दुर्दशा : सामाजिक र धार्मिक दृष्टिकोण
गाईहरू केवल पशु मात्र होइनन्, नेपाली समाजमा धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएका छन् । गाईलाई मुलुकले राष्ट्रिय जनावरका रूपमा मान्यता दिएको छ, तर व्यवहारमा यस्तो अमानवीय अवस्था सिर्जना हुनु लज्जास्पद हो । खान नदिएर मर्न बाध्य पार्नु हत्या हो ।
दोषीलाई कारबाही र गाईको जीवनरक्षा
यस घटनामा संलग्न सबै पक्षलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्छ । बाँकी रहेका गाईहरूको जीवनरक्षाका लागि तुरुन्त पहल आवश्यक छ । स्थानीय सरकारले गाईहरूको रेखदेखको जिम्मा लिनुपर्छ, साथै सञ्चालकहरूविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाउनुपर्छ । गाईलाई मर्न बाध्य पार्ने कसैलाई पनि उन्मुक्ति दिन मिल्दैन ।




