रौतहट । रौतहटको मौलापुर नगरालिकाद्वारा आयोजित छैटौं मधानी महोत्सवको अवसरमा लागेको मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट गरिएको छ । मेलामा घुमी घुमी राम पालको किताब च्यात्दै बेच्नेहरूलाई हिन्दुवादी युवाहरूको समूहले कुटपिट गरेका हुन् ।
किताब च्यातेपछि राम पालका अनुयायी र युवाहरूबीच झड्प हुँदा दुवै तर्फका मानिसलाई चोट पटक लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार राय बताए ।
राम पालका अनुयायीमध्ये एक जनालाई बढी चोट पटक लागेर मौलापुरस्थित एक अस्पतालमा भर्ना हुने स्थिति देखिएसँगै प्रहरीले हिन्दुवादी युवामध्ये एक जनालाई नियन्त्रणमा लिएको थियो ।
घाइतेको अवस्था सामान्य भएपछि पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय मौलापुरले जमानीमा छाडेको छ । त्यसैगरी, महाशिवरात्रीको अवसरमा शिवनगर महादेव स्थानमा लागेको मेलामा राम पालको किताब बेच्ने समूह र युवा समूहबीच घम्साघम्सी भएको थियो ।
मेलाछेउ पुलमा दुवै समूहबीच झड्प हुने स्थिति भएको थियो । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिवनगरबाट गएको टोलीले दुबै समूहलाई धपाउँदा कुटपिट हुनबाट जोगिएको सई बब्लुकान्त झाले बताए ।
यौन हिंसा लगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका भारतीय नागरिक राम पाललाई उनका अनुयायीले भगवान मानेर किताब बिक्री गरेको र सोझा सादा मानिसलाई भ्रममा पारेको भन्दै हिन्दुवादी युवाहरूले प्रदेशभरि विरोध गर्दै आएका छन् । मौलापुरमा लागेको पाँच दिने महायज्ञ मेला बिहीबार सम्पन्न भएको थियो ।




