सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिका र भारतको बिहार राज्यको सितामढी जिल्लाको मडपा सिरपाल (बसबिट्टा) जोड्ने नेपाल–भारत सीमा दशगजामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको सिरकट्टा देवी मन्दिर भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काइदिएको छ ।
बिहीबार दिउँसो नेपाली पक्षलाई कुनै जानकारी नै नदिई एसएसबीले एकतर्फी रूपमा मन्दिर भत्काएको स्थानीय बासिन्दाहरूले बताएका छन् । धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिएको यो मन्दिर नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र थियो । यहाँ विशेष गरी खिर भोजन, भाकल चढाउने तथा विजयादशमीका अवसरमा विशेष पूजा गर्ने परम्परा थियो ।
स्थानीय समुदायले एसएसबीको यो कदमलाई धार्मिक तथा सांस्कृतिक आस्थामाथिको गम्भीर आक्रमण भन्दै कडा आपत्ति जनाएका छन् । उनीहरूले नेपाल सरकारलाई कूटनीतिक पहल गरी मन्दिर पुनर्निर्माण गर्न आग्रह गरेका छन् ।
यस घटना प्रति नेपालका स्थानीय नागरिक मात्र नभई सीमापार भारतका श्रद्धालुहरूले पनि गहिरो दु:ख र आक्रोश व्यक्त गरेका छन् । उनीहरूका अनुसार मन्दिर दुवै देशका नागरिकहरूको साझा धार्मिक तथा सांस्कृतिक सम्पदा भएकाले यसको विनाश असह्य छ ।
यस विषयमा हालसम्म नेपाल सरकार वा भारतीय पक्षबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर, घटनाको गम्भीरताका कारण स्थानीय तथा राजनीतिक तहमा चर्को विरोध भइरहेको छ ।




