बारा । बाराको पश्चिमी क्षेत्रका जनतालाई सेवा प्रदान गर्न सिमरामा स्थापना गरिएका मालपोत र नापी सेवा केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । निर्धारित समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्नुपर्ने भएपनि कर्मचारीहरू ढिलो आउने गरेको पाइएको छ ।
फागुन १८ गते आइतबार बिहान साढे १० बजेसम्म पनि कार्यालयमा कुनै कर्मचारी उपस्थित नभएको सेवाग्राहीहरूले बताए । सेवाकालमा ढिला सुस्तीका कारण नागरिकहरूले अनावश्यक दुःख भोग्नुपरेको गुनासो गरेका छन् ।
मालपोत कार्यालयमा प्रमुख अधिकृतसहित १९ जना कर्मचारीको दरबन्दी छ । तर सेवाग्राहीहरूका अनुसार बिहान ११ बजेपछि मात्रै कर्मचारीहरू आउने गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा रहेको मालपोत कार्यालय र नापी कार्यालय दुवैमा समयमा सेवा नपाइने समस्या रहेको छ ।
मधेस प्रदेश सरकारको प्रतिनिधि टोलीले केही साता अघि अनुगमन गरे पनि सुधार नभएको सेवाग्राहीहरू बताउँछन् । यस विषयमा मालपोत कार्यालयका प्रमुख इन्द्र पाण्डेले एक जना कर्मचारी बिदामा रहेको र बाँकी सबै कार्यालयमा उपस्थित भएको बताए । उनले दैनिक ५/६ वटा लेखत पास हुने गरेको दाबी गर्दै ढिलो आउने कर्मचारीलाई कारबाही गर्ने आश्वासन दिए ।




