काठमाडौं । २४ घण्टामा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पालतो दिसा लाग्नु झाडापखालाको लक्षण हो । झाडापखाला लाग्दा शरीरमा पानी, नुन, खनिज पदार्थ तथा पोषक तत्वहरु खेर जान्छ । झाडापखला सूक्ष्म जीवाणुको कारण लाग्ने गर्छ ।
यो रोग कुपोषित, फोहोर खाना पानी र फोहोर वातावरणमा रहने तथा व्यक्तिगत सरसफाइमा ध्यान नदिने मानिसलाई बढी लाग्छ । यो रोगको जीवाणु पानी, खाना र हातको माध्यमबाट शरीरमा प्रवेश गर्छ र मानिसलाई झाडापखला हुन्छ । झाडापखालाका कीटाणुहरु गर्मी मौसममा बढी सक्रिय हुने भएकाले यो रोग गर्मी मौसममा बढी लाग्छ ।
यी हुन् झाडापखालाका लक्षण
– दिनमा ३ पटक भन्दा बढी दिसा लाग्नु ।
– बान्ता हुनु ।
– शरीरमा पानीको मात्रा कम हुँदै जानु ।
– आँखा गड्ने ।
– पिसाब थोरै हुने ।
– बिरामी शिथिल हुँदै जाने ।
– बच्चाले दूध चुस्न नसक्ने ।
– रुँदा आँसु नआउने ।
– पेट दुख्ने ।
यस्ता लक्षण देखिनु झडापखालाको लक्षण हो । झाडापखाला भएका बिरामीले समयमा उपचार नपाएमा बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसैले झाडापखाला लागेमा उपचार गर्नुपर्छ । झाडापखालाको उपचार घरमै पनि गर्न सकिन्छ ।
झाडापखाला लागेमा यस्तो गर्नुस्
– पुनर्जलीय झोल बनाएर खाने ।
– उमोलेको पानी, भातको माड, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खाने ।
– स्तनपान गराइरहेको शिशूलाई झाडापखाला भएमा धेरै पटक स्तनपान गराउने ।
– पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाहमा पुनर्जलीय झोलसँगै जिङ्क चक्की खुवाउने ।
– पुनर्जलीय झोल खादा पनि झाडापखाला निको नभएमा स्वास्थ्यसंस्थामा लैजानुपर्छ ।
रोगलागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम मानिन्छ । स्वास्थ्य र सरसफाइमा ध्यान दिएमा झाडापखाला लाग्नबाट बच्न सकिन्छ ।
झाडापखाला लाग्नबाट कसरी बच्ने ?
– साबुन पानीले मिचिमिचि हात धुने बानी बसाल्ने ।
– राम्ररी पाकेको खानेकुरा खाने ।
– ताजा खानेकुरा मात्र खाने ।
– खानेकुरालाई झिँगा, धुलोबाट सुरक्षित राख्ने ।
– काँचै खाने तरकारी तथा फलफूल राम्रोसँग पखालेर खाने ।
– पानी शुद्धिकरण गरेर मात्रै पिउने ।
– शौचालयमा मात्रै दिसापिसाब गर्ने ।
– फोहारमैलालाई उचि तरिकाले विसर्जन गर्ने ।






