राजन नामक एक युवक, लामो समयदेखि बेरोजगार थियो । उसले आफ्नो अध्ययन पूरा गरेपछि, जीवनमा ठूलो सफलता हासिल गर्ने आशा गरेको थियो । तर, प्रतिस्पर्धा र अवसरको अभावले उसको मनोबल कमजोर बन्दै गइरहेको थियो । अनेकौं प्रयासहरू गरेपछि पनि कुनै काम पाइरहेको थिएन, तर उसले हिम्मत भने गुमाएन ।
एकदिन, उसलाई एक ठूलो कम्पनीमा इन्टरभ्यूको लागि बोलाइयो । यो कम्पनी निकै प्रतिष्ठित थियो र यसमा काम पाउनु भनेको ठूलो कुरा थियो । राजनलाई थाहा थियो कि यो अवसर उसले गुमाउनु हुन्न । उसले तयारी सुरु गर्यो, आफ्नो रिजुम सही गरेर, सबै प्रश्नहरूको तयारी गरेर, आत्मविश्वासका साथ त्यो दिनको लागि तयार भयो ।
एकाविहानै राजन घरबाट निस्कियो । उसको मन गडबड थियो, सोच्दै थियो, आजको इन्टरभ्यू मेरो लागि महत्त्वपूर्ण छ । र यति सोच्दै, त्यो बाटोमा निस्केको थियो । तर, केही अगाडि पुग्दा, अचानक एक विरालोले उसको बाटो काट्यो । राजनलाई त्यो दृश्य केही अस्वाभाविक लाग्यो, र उसलाई त्यसको प्रभावले अलि घबराहट भयो । उसले सम्झ्यो, ‘यो पुरानो विश्वास हो, आज म यसलाई गलत सावित गर्नेछु ।’
तर पनि उसको मन बेचैन थियो । उसले मनमा सोच्यो, ‘यो केवल संयोग हो । म यसलाई आफ्नो काममा असर गर्न दिन्न ।’ यद्यपि, उसलाई असहजता महसुस भएको थियो, तर उसले आफूलाई सम्हाल्दै इन्टरभ्यूमा जान तयार भए ।
आखिरकार, राजन कम्पनीमा पुग्यो । इन्टरभ्यू सुरु भयो, र ऊ आफैंलाई सबै प्रश्नहरूको जवाफ दिनको लागि तयार महसुस गर्दै थियो । उसले राम्रोसँग आफ्नो प्रस्तुतिकरण गर्यो र आत्मविश्वासका साथ सबै प्रश्नहरूको उत्तर दियो । कम्पनीका प्रमुखहरूले उसलाई सुनिरहेका थिए, र राजनलाई विश्वास थियो कि आजको इन्टरभ्यूमा उनी सफल हुनेछन् ।
केही समयपछि, कम्पनीका प्रमुखले तपाई हाम्रो लागि उचित हुनुहुनेछ, हामी तपाईलाई केहि समय पश्चात खबर गर्नेछौं भन्ने प्रतिक्रिया दिए । राजनले सोच्यो- ‘विरालोले बाटो काट्नुलाई नराम्रो भन्छन्, तर आज मैले गलत सावित गरि दिए ।’ राजन दग्ग हुँदै घर फर्कियो ।
मिनेट घण्टा दिन हुँदै हप्ता वित्दा पनि राजलाई कम्पनीबाट कुनै फोन आएन । उ केहि क्षण अचम्ममा पनि पर्यो । यति मेहनत, तयारी र आत्मविश्वासको बावजुद, उसलाई काम मिलेन । उसले थाहा पाएको थियो कि त्यो विरालोले बाटो काट्ने घटनाले केही अदृश्य रूपमा असर गरेको थियो ।
तर, उसले सोच्यो, ‘यो केवल एउटा अवसर गुमाएको हो । जीवनमा यस्ता धेरै अवसर आउनेछन् ।’ उनले पत्याए कि असफलता भनेको अन्त्य होइन, बरु नयाँ प्रारम्भ हो । त्यसपछि, राजनले मनमा निर्णय गर्यो कि नयाँ अवसरको खोजी गर्न र त्यसको लागि अझ भरपूर तयारी गर्नुछ ।
राजनले बुझ्यो कि प्रत्येक असफलता एउटा सिकाइको अवसर हो, र यसको अर्थ जीवनमा सकारात्मक सोच र दृढ इच्छा शक्ति राख्नुपर्छ ।




