यात्राको अर्थ गति हो । यात्रा साहित्य, यात्रावृत्तान्त, यात्रावर्णन र यात्रा संस्मरण जस्ता विभिन्न नामले चिनिने नियात्राले यात्राका क्रममा देखिएका तिता-मिठा अनुभवहरूलाई जस्ताको तस्तै वर्णन गर्छ । पुस्तकका पानामा सीमित ज्ञान पर्याप्त हुँदैन; व्यावहारिक ज्ञानका लागि यात्राले महत्वपूर्ण भूमिका खेल्छ । यात्राले हामीलाई कुनै पनि ठाउँको भाषा, रहनसहन, भेषभूषा, जीवनशैली र संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्छ ।
गैंडाकोट नगरपालिका वार्ड नं. १ स्थित श्री सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका १९ जना शिक्षक मिलेर हामी गण्डकी प्रदेश, कास्की जिल्लाको मादी गाउँपालिकास्थित ताङतिङ गाउँको तीन दिने अवलोकन यात्रा गर्ने निर्णय गर्यौं । यात्रा कालिगण्डकी कोरिडोर हुँदै गर्ने योजना बनाइयो ।
यात्राको प्रारम्भ
२०८० साल कात्तिक २ गते बिहान ५:३० बजे हामी गाडी चढेर यात्राका लागि प्रस्थान गर्यौं । म स्वयं, भूमिका गैरे तिमिल्सिना, पनि यस यात्राको सहभागी थिएँ । गैंडाकोट नगरपालिका पार गर्दै ढोडेनीतर्फ अघि बढ्यौं । त्यहाँको मुख्य अन्नबाली कोदो, मकै, फापर र अदुवा रहेछ ।
हामी बुलिङटार गाउँपालिका अन्तर्गतको डेढगाउँ पुग्यौं । त्यहाँ रहेको अकला देवी मन्दिरको दर्शन गर्यौं । स्थानीय विश्वासअनुसार मनले चिताएका कुरा पूरा हुने जनविश्वास यस मन्दिरसँग जोडिएको रहेछ । मन्दिर दर्शनपछि चिया-खाजा खाई यात्रालाई निरन्तरता दियौं ।
हाम्रो यात्रा घिरिङ गाउँपालिकातर्फ उन्मुख भयो । यो ठाउँ कम जनसंख्या भएको, पातलो बस्ती, साँघुरो र घुमाउरो कच्ची बाटोयुक्त थियो । कतिपय घरहरू सुनसान थिए, जसले त्यहाँका मानिसहरू रोजगारी वा अन्य कारणले बसाइँ सरेको संकेत गर्थ्यो । त्यहाँको मुख्य अन्नबाली कोदो, मकै, मास, भटमास रहेछ । पानीको अभावले खेतीमा कठिनाइ देखिन्थ्यो ।
त्यसपछि हामी भीमाद नगरपालिका पुग्यौं । यो ठाउँ तुलनात्मक रूपमा विकसित देखियो । कतिपय ठाउँमा पक्की सडक, बाक्लो बस्ती, र व्यवसायिक क्षेत्रहरू रहेछन् । त्यहाँको मुख्य अन्नबाली मकै, कोदो, अदुवा र भटमास पाइयो । भीमादको सुन्दर प्राकृतिक परिवेशले हामीलाई लोभ्यायो ।
पोखरा हुँदै ताङतिङ यात्रा
पोखराको अमरसिंह चोक हुँदै हाम्रो गन्तव्यतर्फ लाग्यौं । बाटो बिराएर पश्चिमतर्फ सिक्लेस जानेक्रममा थाहा पाएर पुन: सही बाटो रोज्यौं । काहुँखोलाबाट बसमा चार घण्टा उकालो लाग्दै हामी साँघुरो, एकतर्फी, जोखिमयुक्त पहाडी बाटो पार गर्यौं । बेलुका ९:०० बजे हामी ताङतिङ गाउँ पुग्यौं ।
ताङतिङ गुरुङ समुदायको बस्ती हो, जहाँ २०० घरधुरी छन् । यहाँका घरहरू टिन र ढुङ्गाले छाएका सुन्दर छन् । गुरुङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहनको जिवन्त संग्रहालयजस्तो लाग्ने यो गाउँ प्रकृति र संस्कृतिले भरिपूर्ण छ ।
गाउँबाट अन्नपूर्ण, लमजुङ हिमाल स्पष्ट देखिन्छ । पर्यटकहरू हिउँ खेल्न, लालीगुराँस हेर्न र हिमालसँग नजिक हुन ताङतिङबाट नौचुडाँडा, क्रबुडाँडा र चोरोडाँडातर्फ यात्रा गर्छन् । हामी गणेश बहादुर गुरुङको होमस्टेमा बस्यौं । राति आगो ताप्दै शिक्षक साथीहरूसँग रमाइलो गफ गर्यौं । स्थानीय खानाका परिकारहरू स्वादिष्ट थिए ।
नौचुडाँडाको यात्रा
भोलिपल्ट बिहान ५:०० बजे नास्ता गरेर कोही ट्रेकिङ, कोही झरना अवलोकन, त कोही सेल्फी डाँडातर्फ लाग्यौं । नौचुडाँडासम्मको यात्रामा घना जंगल, लालीगुराँस, सिलटिमुरका बोट र औषधिजन्य वनस्पतिहरू देख्न पाइयो । चराचुरुङ्गीका मधुर आवाजले वातावरण रोमाञ्चक बनायो ।
७:०० बजे हामी नौचुडाँडा पुग्यौं । त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, र अन्य हिमश्रृंखलाको मनोरम दृश्य देख्यौं । धार्मिक मान्यताअनुसार, यहाँका ढुङ्गाहरू स्वतः बढ्दै जाने विशेषता राख्छन् । गणेश दाइका अनुसार, पहिला दुई ठूला ढुङ्गा मात्र थिए, अहिले ४०-५० वटा भइसकेका छन् । १०:३० बजे होमस्टे फर्किएर खाना खायौं । ११:०० बजे गाडी चढेर पोखराको फेवातालतर्फ लाग्यौं ।
फेवाताल र तालबराही मन्दिर भ्रमण
फेवातालको बीचमा रहेको तालबराही मन्दिरको दर्शन गर्न ढुङ्गामा यात्रा गर्यौं । पुनर्निर्माण कार्य चलिरहेका कारण नयाँ संरचनाको काम भइरहेछ । देवीको दर्शनपछि पोखरामा केही समय बितायौं । ६:०० बजे मुग्लिन हुँदै घर फर्कने क्रममा गाडी बिग्रिएर केही ढिलाइ भयो । अन्तत: बिहान ३:०० बजे सकुशल घर पुग्यौं ।
अत: नेपालका यस्ता सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँहरूको प्रवर्द्धन आवश्यक छ । विद्यार्थीलाई केवल प्रविधिमैत्री बनाउनु पर्याप्त छैन, उनीहरूलाई संस्कृतिसँग पनि परिचित गराउनु जरुरी छ । यात्राले उनीहरूमा नेतृत्व विकास, संस्कृतिप्रति लगाव र व्यावहारिक ज्ञानको विकास गर्छ ।
राज्यले स्वदेशी पर्यटकीय स्थलहरू संरक्षण र प्रवर्द्धन गर्न पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ । सडक विस्तार, सुरक्षित यात्रा मार्ग र पर्यटकीय गतिविधिहरूलाई प्रोत्साहित गरिनु आवश्यक छ । नेपालको समृद्ध सांस्कृतिक र प्राकृतिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न जरुरी छ ।
नेपाल साँच्चै नै बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, र बहुजातीय परम्पराले सुसज्जित सुन्दर मुलुक हो । यसको महत्व उजागर गर्न हामी सबैको दायित्व रहन्छ ।




