काठमाडौं । कलाकार दीपकराज गिरीले आफूलाई राजावादीको सूचीमा राखेर विज्ञप्ति निकालेको विषयमा असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् । उनले विभिन्न कालखण्डमा विभिन्न ‘राजाहरू’लाई समर्थन गरेको उल्लेख गर्दै आफ्नो भनाइ राखेका छन् ।
गिरीले लेखेका छन्, “२०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहाँ उल्लेख नगरौँ ! मेरो राजावादी यात्रा ठोस रूपमा २०४६ पछि सुरु भएको हो । मुलुकमा प्रजातन्त्र स्थापनापछि राजनीति गर्ने रहर जागेर आयो । कुन विचार र दललाई अंगाल्ने भनेर अध्ययन गरियो, अन्तत: अहिलेका चर्चित शेर बहादुर ‘राजा’को पार्टी रोजियो ।”
उनले आफ्नो विचारलाई अझ प्रस्ट्याउँदै भने, “२०६२/६३ को आन्दोलन आयो, त्यतिबेला देश संकटमा परेको आभास भयो । प्रचण्ड ‘राजा’को क्रान्तिकारी तेजबाट प्रभावित पनि भइयो । उनी लगायतका नेताहरूको आव्हानलाई साथ दिइयो, तत्कालीन राजसत्ताविरुद्ध लेखियो, बोलियो, हिँडियो पनि ! त्यसबेला फेरि एक पटक राजावादी भइयो ।”
गिरीले आफूलाई राजावादी सूचीमा राखिएको विषय प्रति रोष प्रकट गर्दै भनेका छन् कि राजावादी आन्दोलनको एक दिन अघि आयोजना गरिएको बौद्धिक भेलामा राजनीति ध्रुवीकरण बारे छलफल गर्न उनलाई निमन्त्रणा गरिएको थियो । तर, यसलाई नै आधार बनाएर आफूलाई राजावादीको सूचीमा राख्नु अन्यायपूर्ण भएको उनको धारणा छ ।






