काठमाडौं । कोभिडविरुद्धको खोप लगाएकाले पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाएका व्यक्तिहरुलाई गम्भीर बिरामी हुने जोखिम कम भएपनि संक्रमण हुने जोखिम भने रहिरहने मन्त्रालयकाे भनाइ छ ।
‘तपाईँ आफू स्वस्थ महसुस गर्नुहुन्छ भने पनि तपाईँमा भाइरस हुन सक्छ । खोप लगाएका व्यक्तिहरुलाई गम्भीर बिरामी हुने जोखिम कम भएपनि संक्रमण हुने जोखिम भने रहिरहन्छ । लक्षण नदेखिएका व्यक्तिहरुले पनि अर्को व्यक्तिलाई संक्रमित बनाउन सक्ने भएकाले थाहै नपाइ तपाईँले आफ्ना प्रियजनहरु माझ संक्रमण फैलाइरहनु भएको पनि हुन सक्छ । त्यसैले जहिले पनि नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ । यसो गर्नाले आफू पनि सुरक्षित भइन्छ र अरुलाई पनि सुरक्षित राख्न सकिन्छ’, मन्त्रालयले सूचनामा भनेकाे छ ।
पछिल्लाे समय काेराेना भाइरसकाे तेस्राे लहर नेपालमा सुरू भएकाे चर्चा चलिरहेकाे छ । यद्यपी स्वास्थ्य विज्ञहरूले भने याे दाेस्राे लहर नै भएकाे दाबी गरिरहेका छन् । दोस्रो लहर पूर्ण रुपमा नसकिएसम्म तेस्रो लहर भन्न नमिल्ने उनीहरुको तर्क छ ।
शनिबार मात्रै नेपालमा तीन हजार २१८ जना संक्रमित थपिएका थिए ।






