एजेन्सी । शनिबार राति बलिउड अभिनेता अमिताभ बच्चनकाे घरमा बम रहेकाे खबर फैलियाे । उक्त सूचना प्राप्त गरेपछि प्रहरीले अमिताभकाे चार वटै घरमा सुरक्षा बढाउनुका साथै छानविन गर्याे, तर कतै बम फेला परेन ।
बम फेला नपरेपछि प्रहरीले थाहा पायाे – उक्त सूचना गलत रहेछ । सूचना गलत रहेकाे पत्ता लागेसँगै छानविनका क्रममा मदिरा सेवन गरेका २ व्यक्तिले मुम्बइका विभिन्न ४ स्थानमा बम राखेको झुटो खबर दिएको पुष्टि भएकाे छ । मुम्बइ प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेको छ ।
फोनमा एक व्यक्तिले अमिताभको साथै दादर, सीएसटी र भायखलामा बम रहेको खबर प्रहरीलाई दिएका थिए । फोन गर्ने व्यक्तिले अमिताभको कुन घरमा बम छ भनेर जानकारी भने दिएका थिएनन् । यसैले, प्रहरीले उनको चारैवटा घरमा सुरक्षा तैनाथी बढाएको थियो ।
उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।






