१. हालै कस्मिरमा घटेको विभत्स घटनालाई लिएर इन्डियाले सिन्धु नदी सम्झौता (विभिन्न नदीहरूको लागि गरिएको जल सम्झौता) एकपक्षीय रुपमा अमान्य घोषणा गर्नु भनेको “दाईलाई सक्दिन भाउजुलाई सक्छु” भनेको हो । उसले यति मात्र देखाउन खोजेको छ कि यो प्रकारको क्रूर आक्रमणबाट हामी निकै आक्रोसित छौं ।
२. यसलाई बुझ्न दक्षिण एसिया वा पूर्वी एसियामा रहेका प्रोक्सीहरु कहाँ कहाँ छन् र तिनीहरूले कुन कुन शक्ति राष्ट्रहरूबाट सपोर्ट पाइरहेका छन् भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ । इंडिया सिकार भएको हो । उसले थप केही गर्न नसक्ने अवस्थामा छ, किनभने उसले आफूलाई विश्व राजनीति मञ्चमा सबैतिर साखुल्ले हुने कोसिस गरिरहेको छ, जुन असम्भव प्राय । त्यसैले उसले रिस पोख्न पाकिस्तान तिर औँला देखाएको मात्र हो । गर्ने केही होइन, गर्ने ठाउँ पनि हुँदैन । तुक पनि छैन ।
नैतिक तवरमा इन्डियाले जल सम्झौता उलंघन घोषणा गर्नु ठीक होइन । यदि इन्डियाको घोषणा सही मान्ने हो भने, नेपालले पनि एकतर्फी रुपमा अमान्य घोषणा गर्न सक्ने थुप्रै पटक यस्ता अवसर आएका थिए ।
के नेपालले पनि त्यसरी घोषणा गर्यो भने इन्डियाले त्यसलाई स्वीकार्छ ? स्वीकार्ने नैतिकता छ ? स्वीकार्ने आँट देखाउन सक्छ ? अहँ स्वीकार्दैन ।
३. फेरि विषयमै फर्कौ । यसलाई यसरी अझ प्रस्ट बुझ्न सकिन्छ । नाटो प्लसको हेडक्वार्टर जापानमा रहने प्रस्ताव गरिएको छ तर इन्डियाले विगत दुई वर्षदेखि नाटो प्लसमा जान इन्कार गरिरहेको छ ।
४. अर्को तर्फ पाकिस्तानले आफूलाई ब्रिक्स समूहमा समाहित हुन निवेदन हालिरहेको छ । तर चीन, पाकिस्तान र रसिया एक ठाउँमा आउन सक्ने प्रबल संभावना छ, ब्रिक्स मार्फत । तर इन्डियालाइ उकालो छ । त्यसो भए इन्डियालाइ कसले इंगेज गर्छ त ? यहीँनेर मुख्य गुदी कुरा रहेको बुझ्न कठिन छैन ।
५. हालै आएर बंगलादेश र पाकिस्तान एकातिर उभिएका छन् भने इंडिया एक्लो छ ।
मैले केहि हप्ता अगाडि लेखेको पनि थिए कि इन्डियाको भूभागमा संघर्षका दुई फ्रन्टहरु आधिकारिक रूपमा खुलिसकेका छन् । जस अन्तर्गत इन्डियाको उत्तरपूर्वी भाग विखण्डनको द्वन्दमा फसेको छ । जुन द्वन्दमा हालको बंगलादेश पनि सामेल छ जस्तो देखिन्छ ।
६. यसरी इन्डियाले पाकिस्तानी चोर औँला देखाउनु आत्मरति मात्र हो । समस्याको समाधान होइन । इंडिया यसको समाधान निकाल्न सक्ने अवस्थामा पनि छैन । जस्तै इन्डियाले पाकिस्तानी इमरान खान सत्तामा हुँदा पनि समेत सुमधुर सम्बन्ध राखेन। राख्न सकेन । राख्ने मानसिकता बनाउन सकेन । बरु दरिद्रि पाकिस्तानी हामीसँग हातेमालो गर्न योग्य छैन भनेर गोदी मीडिया मार्फत कुप्रचार गरिरह्यो । जुन उसको गंभीर भूल थियो । जबकि इमरान खानले इन्डियासंग सहकार्य गर्न चाहेका थिए ।
७. अबको युग एसियाको हो । त्यो युगलाई तोड्न विभिन्न विश्व शक्तिहरुले विभिन्न प्रकारका प्रोक्सीहरु मार्फत खेल्न खोज्नु सामान्य जस्तै हो । त्यसको प्रभावबाट बच्न, इन्डियाले गहिरो प्रभाव पर्ने गरी फड्को मार्ने आँट गर्न सकेको छैन । सायद यही उसको कमजोरी हो वा अन्य अरु पनि कारणहरू छन् ?
त्यसैले, हालको लागि “दाईलाई सक्दिन भाउजुलाई सक्छु” भनेर इन्डियाले पाकिस्तानी तिर औँला देखाउनु हास्यास्पद छ । इन्डियाको यो घोषणा उसको आन्तरिक तथा वाह्य दुवै अवस्थामा निरीहता हो । उ विवश छ औँला देखाउन ।
अस्तु ।




