काठमाडौं । ‘सकम्बरी’ नामले चिनिएकी लोकप्रिय मोडल कुसुम शर्मा अब वैवाहिक जीवनमा प्रवेश गर्न लागेकी छन् । उनले काठमाडौंमा बसोबास गर्ने विश्व अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन् । मंगलवार आयोजित पारिवारिक समारोहमा कुसुम र विश्वको इन्गेजमेन्ट सम्पन्न भएको हो ।
कुसुमले उक्त समारोहको भिडियो आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । भिडियो सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । कुसुम र विश्व केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा हुँदै आएको थियो ।
टिकटकमा उनीहरूको निकटता खुलेर देखिए पनि, कुसुमले सार्वजनिक रूपमा प्रेम स्वीकार गरेकी थिइनन् । यद्यपि, अब इन्गेजमेन्टमार्फत सम्बन्धलाई औपचारिक बनाइएको छ । विवाहको मिति भने हालसम्म खुलाइएको छैन ।
प्रकाश सपुतको चर्चित गीत ‘फूलमाया’बाट सांगीतिक यात्राको सुरुवात गरेकी कुसुमले पहिलो प्रोजेक्टबाटै दर्शकको मन जितेकी थिइन् । त्यसयता उनले ५० भन्दा बढी म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छन् ।
हालै मात्र उनी अभिनीत पहिलो चलचित्र ‘वर एण्ड बधु’ पनि प्रदर्शनमा आएको छ । ग्ल्यामर क्षेत्रमै सशक्त उपस्थिति बनाएकी कुसुमको वैवाहिक यात्रा कस्तो हुनेछ भन्नेमा उनका फ्यानहरू उत्साहित देखिएका छन् ।






