कर्तव्य र जिम्मेवारीले थिचेपछि
खुलेर हाँस्न पनि बिर्सिएछु
सबै हाँस्दा हाँसी दिने
सबै नाच्दा नाचीदिने
पहिचान हराएको पात्र भएछु ?
साथीसँगीमाझ हर बखत हुँने म
सदा रमाइलो गर्न मन पराउँने म
जीन्दगी यस्तै हो भनि सोच्ने म
बल्ल बुझ्दैछु, सोचे जस्तो नहुँदो रहेछ ।
सबैको चित्त बुझाउदा बुझाउदै
सबैका खुड्किला बन्दा बन्दै
म त आफैं सर्वनाम भएछु ।
कन्यादान दिनुभयो बाबा गोत्र सारियो
सिउदोमा सिन्दुर परेपछि थर फेरियो
घरमा सबै मेरो हो भनि धाक जमाउँने म
आज त्यसैलाई माइतीभन्दा लरबराए
पछाडि फर्किएर हेर्दा आफैं बिरानो भएछु ।
सम्झिएर हेर्दा ती दिन अचेल
आफैंले आफैंलाई चिमोट्न मन लाग्छ
केवल मनसपटलमा मात्र कैद छन् ती याद
अहिलो जिम्मेवारीको भारी बोक्ने पात्र भएछु ।
सासुको लागि संस्कारी बुहारी बने
श्रीमानको लागि आदर्शवान नारी
सम्बन्धको भुमरीभित्र जेलिएर
म त आफैं गुमनाम भएछु ।
सबैको मन राख्दा राख्दै
यति गहिराइमा पुगेछु कि खुलेर हाँस्न बिर्सिएछु ।
आफ्नो लागि त समय नै छैन
म त इसारामा चल्ने पात्र भएछु ।
निर्धक्क डटेर हिड्ने गर्थे
मनमा लागेका कुरा सहजै बोल्थे
यसो पछाडि फर्किएर हेर्दा
नसोचिकन बोल्ने बानी हराएछु ।
स्वतन्त्रता सबैलाई प्यारो हुँने
सबैलाई सम्मान चाहिने
सम्बन्धमा खरा उत्रदा- उत्रदै
सबैलाई पूर्णता दिँदा- दिँदै
म त आफै अल्पविराम भएछु ।
सन्तानका लागि ममतामयी माता
घरको लागि मजबुत खम्बा
कुटुम्बको लागि मान गर्ने पात्र
सम्बन्धको जालोमा घेरिएर
म त सहनशीलताकी पात्र भएछु ।






