महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीका लेखा अधिकृत रामसुलित महत्तोमाथि कार्यकक्षभित्रै हातपात भएको दाबी गर्दै उनले जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको माग गरेका छन् । महत्तोले दायर गरेको निवेदनमा निर्माण व्यवसायी दिनेश चौधरीले गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिँदै हातपात गरेको उल्लेख गरिएको छ ।
घटना मंगलबार बिहान ११ बजे भएको बताइएको छ । लेखा अधिकृत महत्तोका अनुसार, हरित पार्क निर्माणका विषयमा विवाद हुँदा निर्माण व्यवसायी चौधरीले कार्यकक्षमै प्रवेश गरी हातपात गरेका थिए । उनले तत्कालै जिल्ला प्रशासन कार्यालय पुगेर घटना विवरण दिंदै सुरक्षा माग गरेका हुन् ।
महत्तोले हरित पार्क निर्माणको ठेक्का पाएका व्यवसायी चौधरीले निर्माण कार्यमा सम्झौताविपरीत काम गरी भुक्तानीको लागि दबाब दिएको आरोप लगाएका छन् । उनका अनुसार, सम्झौता अनुसार २.५ फिट माटो हाल्नुपर्नेमा १.५ फिट मात्र माटो प्रयोग गरिएको, रंगीन जिकज्याक ब्लक राख्नुपर्नेमा सामान्य ब्लक राखिएको छ । यस्ता कामको भुक्तानीका लागि लेखा शाखामा बारम्बार दबाब दिइएको उनको दाबी छ ।
उनले कार्यालय प्रमुख अजय मिश्र, इन्जिनियर राकेश पाण्डे र चौधरी समूह मिलेर गैरकानुनी दबाब सिर्जना गरेको आरोप पनि लगाएका छन् । उनले भने, “भुक्तानी प्रक्रियाका लागि आवश्यक कागजातबारे जानकारी माग्दा उल्टै हातपात भयो । वनरक्षकले बचाउने प्रयास गर्दा उनलाई सरुवा गरियो ।”
यस विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले डिभिजन वन कार्यालयमा आपसी असमझदारी देखिएको र हाल अनुसन्धान भइरहेको बताएका छन् । “कार्यालय प्रमुख मिश्रलाई बोलाएर विवरण लिइँदैछ,” उनले भने ।
तर अर्कोतर्फ, निर्माण व्यवसायी दिनेश चौधरीले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै मंगलबार कार्यालयमा पुगेर भुक्तानी प्रक्रिया कहिलेसम्म टुंगिन्छ भनेर सोध्न मात्रै गएको बताए । “मैले कुनै गालीगलौज वा हातपात गरेको छैन,” चौधरीको भनाइ छ ।
प्रदेश सरकारले महोत्तरीको जलेश्वरमा हरित पार्क निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । एनके कन्स्ट्रक्सन जलेश्वरले १९ लाख ९५ हजार ९ सय ३३ रुपैयाँमा पार्क निर्माणको ठेक्का लिएको हो । वन अधिकृत बेचु कुमार मिश्रका अनुसार १७ सय वर्गमिटर क्षेत्रफलमा माटो पुरी, पीसीसी ढलान, ब्लक राख्ने र वृक्षारोपण गर्ने योजना रहेको छ ।
यद्यपि कार्यालयका केही कर्मचारीहरूका अनुसार ठेक्का प्रक्रिया पारदर्शी थिएन । उनीहरूले निर्माण सम्झौताअघि नै आर्थिक लेनदेन भएको र सीमित व्यवसायीहरूबीच प्रतिस्पर्धा गराइएको आरोप लगाएका छन् ।
यसैबीच, ५० लाखको भवन निर्माणमा ४० प्रतिशत कम मूल्यमा ठेक्का दिइँदा पनि माटोको काममात्रै हुने पार्क निर्माणमा ४ हजार रुपैयाँ मात्र घटाएर सम्झौता हुनु शंकाको विषय बनेको उनीहरूको भनाइ छ ।
२०७८ माघ २३ गते प्रकाशित टेन्डरमा ५ कम्पनीले बोलपत्र पेश गरे पनि ३ कम्पनीले मात्र प्रतिस्पर्धामा भाग लिएको र न्यून बोलकबोल (लो बिडर) सँग सम्झौता गरिएको पाइएको छ । हालसम्म १६ लाख ४४ हजार रुपैयाँ बराबरको रनिङ बिल भुक्तानीको प्रक्रिया अघि बढिरहेको छ, जसमा लेखा अधिकृत महत्तोमाथि निरन्तर दबाब आइरहेको उनले दाबी गरेका छन् ।




