राजविराज । जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान कञ्चनरूप नगरपालिका १२ का ६५ वर्षीय केदार विष्टको हात्तीको आक्रमणमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार विष्ट बिहान घर नजिकैको बारीको सुरक्षा र रेखदेखका लागि बसेका बेला जङ्गली हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते भएका उनलाई स्थानीयले उद्धार गर्ने प्रयास गरे पनि घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
सप्तरी र आसपासका क्षेत्रमा विगत केही वर्षदेखि जङ्गली हात्तीको आक्रमणका घटना दोहोरिइरहेका छन् । वन क्षेत्रबाट बस्ती नजिक आउँदा यस्ता घटनामा वृद्ध वृद्धा र किसान बढी प्रभावित हुने गरेका छन् ।




