राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ स्थित सुकुम्बासी बस्तीमा रहेका सबै घर शौचालयविहीन छन् । वडा कार्यालयसँगै रहेको मुसहर (सदा) समुदायको बस्तीमा सात वर्षअघि निर्माण गरिएको सार्वजनिक शौचालयमा ताला लगाइएपछि स्थानीय बासिन्दा अझै पनि खुला स्थानमै शौच गर्न बाध्य छन् ।
२०७४ चैत २१ मा ‘जसको घरमा शौचालय छैन, उसको घरमा विवाह हुँदैन’ भन्ने नारासहित सप्तरीलाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो । त्यति बेला अधिकांश घरमा निजी शौचालय बनाइए पनि यो सुकुम्बासी बस्तीका लागि सार्वजनिक शौचालयको विकल्प तय गरिएको थियो ।
सोही वर्ष ७ लाख रुपैयाँको लागतमा सार्वजनिक शौचालय निर्माण पनि गरिएको थियो । तर निर्माणपछि केही समय मात्रै सञ्चालनमा आएको शौचालयमा लगाइएको ताला आजसम्म खुलेको छैन । परिणामस्वरूप बस्तीका करिब १२५ बढी मानिस बिहान बेलुका खुला ठाउँमा शौच गर्न बाध्य छन् ।
महिलाहरू उज्यालो हुनु अघि नै खेतबारी, बाँसघारी वा झाडी खोज्न निस्कनुपर्ने बाध्यता छ । बिहानै अर्काको खेत प्रयोग गर्दा गाली खप्नुपरेको गुनासो पनि स्थानीयको छ । स्थानीयबासीले बारम्बार सार्वजनिक शौचालय खोलिदिन सम्बन्धित जनप्रतिनिधिहरूलाई आग्रह गर्दै आएका छन् ।
तर सात वर्षसम्म पनि कुनै सुनुवाइ नभएको उनीहरूको आरोप छ । वडास्तरीय निकायका अनुसार एक पटक प्रयोगमा आएको शौचालयको सेप्टिक ट्यांकमा जडान गरिएको पाइपमा क्षति पुगेपछि ताला लगाइएको हो ।
बजेट अभाव र तोडफोडको सम्भावनालाई देखाउँदै शौचालय बन्द गरिएको जनाइएको छ । सार्वजनिक शौचालय निर्माण गरिए पनि त्यसको पहुँचबाट समुदायलाई बञ्चित गरिनु खुलेरै दिशामुक्त क्षेत्र घोषणाको प्रभावकारिता माथि प्रश्न उठ्न थालेको छ ।




