वीरगञ्ज । अत्यन्त संवेदनशील मानिने नारायणी अस्पतालको आईसीयू र सिसीयू कक्षमा करिब दुई घण्टा ३० मिनेटसम्म विद्युत सेवा अवरुद्ध हुँदा गम्भीर बिरामीको ज्यान जोखिममा परेको छ । शुक्रबार राति १०:३० बजेबाट शनिबार बिहान १:०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुँदा अस्पताल प्रशासनको लापरबाही उजागर भएको हो ।
विद्युत अवरुद्ध भएको बेला ती कक्षमा १७ जना बिरामी उपचाररत थिए । चिकित्सक र नर्सहरूले मोबाइलको बत्ती बालेर उपचारमा निरन्तरता दिँदा ज्यानको जोखिमबाट सबै बिरामीलाई जोगाउन सकिएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल प्रशासनको लापरवाही र तयारीको अभावले यस्तो संकट उत्पन्न भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले घटनालाई गम्भीर रूपमा लिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रको उपस्थितिमा शनिबार अस्पताल विकास समिति, मेडिकल सुपरिटेन्डेन्ट, प्रशासन प्रमुख, चिकित्सक, नर्स तथा अन्य प्राविधिक कर्मचारीहरूसँग आपतकालीन बैठक बसेको थियो ।
प्रजिअ अर्यालले अस्पतालको गम्भीर कक्षमा साढे दुई घण्टा विद्युत् अवरुद्ध हुनु अत्यन्त लापरवाहीपूर्ण र खतरनाक भएको बताए । “यदि कुनै बिरामीको ज्यान गएको भए त्यसको जिम्मा कसले लिने ? यस्तो लापरवाही अब सह्य हुँदैन,” उनले भने ।
प्रहरी प्रमुख मिश्रले अस्पतालमा २४ घण्टा इलेक्टिसियनको व्यवस्था गर्न निर्देशन दिएका छन् । “बिजुली नहुँदा इलेक्टिसियनसमेत नहुनु अझ गम्भीर हो । जिम्मेवार कर्मचारी मानसिक र शारीरिक रूपमा तयार रहनुपर्छ,” उनले स्पष्ट पारे ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले यस्तो संवेदनशील कक्षमा विद्युत अवरोध हुनु दुर्भाग्यपूर्ण भएको भन्दै भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाए ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्ररञ्जन साहका अनुसार आइसीयू र सिसीयूमा कमजोर वायरिङका कारण समस्या आएको हो । उनले भने, “विद्युत सेवा बन्द भएको बेला दुईजना गम्भीर बिरामीलाई अन्यत्र सार्ने तयारी भइरहेको थियो । तर विद्युत सेवा फर्किएपछि त्यस्तो आवश्यकता परेन ।”
जिल्ला प्रशासन कार्यालयले अबको केही दिनभित्र विद्युत आपूर्तिमा लापरबाही गर्ने कर्मचारीको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । यस घटनाले सरकारी अस्पतालमा आपतकालीन सेवा सञ्चालनको तयारी र व्यवस्थापनको गम्भीर कमजोरी उजागर गरिदिएको छ ।




