रौतहट । रौतहटको कटहरिया नगरपालिका १ स्थित भषेडवा माध्यमिक विद्यालयबाट कम्प्युटर चोरी गरेको अभियोगमा तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरीको घटना तीन दिनअघि घटेको भएपनि इलाका प्रहरी कार्यालय गरुडाले बुधबार उनीहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कटहरिया १ भषेडवाका मुकेश दास, राधेश्याम दास र राजु दास रहेका छन् । प्रहरीले तीनै जनाविरुद्ध चोरी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार, गएको शनिबार राति ती तीनै जनाले विद्यालय भवनको दोस्रो तलामा रहेको लेखा शाखाको कोठाको ताल्चा फोडी एक थान कम्प्युटर चोरी गरेका थिए । चोरी भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा भोलिपल्ट आरोपी राजु दासको घरमा खानतलासी गर्दा विद्यालयबाट चोरी भएको कम्प्युटरसहित पहिलेका चोरीका केही अन्य सामाग्रीहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनाको घर विद्यालयको छेउमै रहेकाले उनीहरूले बारम्बार चोरी गर्दै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । स्थानीयस्तरमा विद्यालयको सुरक्षाको गम्भीर अवस्था उजागर भएको भन्दै अभिभावक र शिक्षकले निगरानी कडा बनाउन आग्रह गरेका छन् ।




