काठमाडौं । नेपालका विभिन्न जिल्लाहरूमा डेंगी रोगको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगले विशेष गरी वर्षायाममा तीव्ररूपले फैलिने भएकाले स्वास्थ्य विज्ञहरूले यसबाट बच्न सावधानी अपनाउन सुझाव दिएका छन् । डेंगीको संक्रमणलाई रोक्न निम्न उपायहरू अवलम्बन गर्नु अत्यावश्यक मानिएको छ;
– पूर्ण बाहुला भएको लुगा लगाएर शरीरको अधिकांश भाग छोप्ने ।
– राति सुत्दा अनिवार्य रूपमा झुल प्रयोग गर्ने ।
– घर तथा कार्यस्थलका झ्याल र ढोकामा लामखुट्टे नछिर्ने गरी जाली लगाउने ।
– घर, विद्यालय, कार्यालय वा सार्वजनिक स्थलहरूमा पानी जम्न नदिनु ।
– खाल्डाखुल्डी पुर्नु र ढल वा खानेपानी चुहावट भएको भए तत्काल मर्मत गर्नु ।
– फूलदानी, गमलाको प्लेट, कुलर आदिमा जम्मा भएको पानी हप्तामा कम्तीमा एक पटक फेर्नु ।
– पानी राख्ने भाँडोहरूलाई लामखुट्टे छिर्न नदिने गरी राम्रोसँग छोपेर राख्नु ।
– बिहान र साँझ घर बाहिर टहलिँदा वा करेसाबारी तथा पार्क जाँदा लामखुट्टेको टोकाइबाट जोगिन सावधानी अपनाउनु ।
स्वास्थ्य मन्त्रालयले डेंगीबाट जोगिन जनचेतनामूलक अभियानहरू सञ्चालन गर्दै आएको छ भने जनस्वास्थ्य विज्ञहरूले स्वच्छ वातावरण र लामखुट्टेको वृद्धि नियन्त्रणमै डेंगी रोकथामको मुख्य उपाय रहेको बताउँछन् । डेंगीका लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरूको सुझाव छ ।






