प्रिय Gen-Z का नवयुवा साथीहरू,
शायद ‘Revolution’ अब ‘Counter-Revolution’ मा परिणत हुँदैछ । मैले शुरूमा तपाईंहरूलाई समर्थन गर्ने क्रममा भनेको थिएँ- ‘भेडाको खोल ओढेर आउने ब्वाँसाहरू’ संग सतर्क रहनुहोला ! शायद तिनीहरू तपाईंहरूको आन्दोलनमा पसिसके !
देशको लोकतान्त्रिक कानून बनाउने थलो संसद, कार्यान्यन गर्ने थलो सिंहदरबार, कानूनको व्याख्या र न्याय निरूपण गर्ने थलो अदालत, शान्तिसुरक्षा कायम गर्ने थलो गृह मन्त्रालय, राजनीतिक दिशावोध गर्ने थलो दलहरूका कार्यालय, राम्रो/नराम्रो जे भएपनि लोकतन्त्रनिम्ति लडेका शीर्ष राजनीतिक दलका नेताको निवास आदि छानीछानी आगो लगाउने काम तपाईंहरूले पक्कै गर्नुभएको हैन । लोकतन्त्रका प्रमुख आधारस्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान् ? तिनको उद्देश्य के होला ? त्यसैले आत्मसमीक्षा गर्नुहोस् ! अब त्यो आगो निभाउने काममा लाग्नुहोस् !
ती ‘ब्वाँसाहरू’लाई चिन्ने प्रयत्न गर्नुहोस् ! विश्वभरका महान् क्रान्तिहरूको इतिहास पढ्नुहोस् । खास गरी संसार हल्लाउने फ्रान्सेली क्रान्ति (इ.सं 1789-93) को इतिहास पढ्नुहोस् । मैले नेपालकै सबभन्दा भीषण क्रान्तिको वेला लेखेको ‘नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन’ ( कान्तिपुर दैनिक, 2058 जेठ 24 ) हेर्नुहोस्!
म निरन्तर तपाईंहरूको पक्षमा उभिदै आएको, एक दशकदेखि अब लोकतन्त्रको जगमा टेकेर मुख्यत: सुशासन र समृद्धिको वैकल्पिक राजनीतिलाई अघि बढाउनुपर्छ भनेर उकाली ओराली गर्दै रातदिन खट्दै आएको मानिसलाई तपाईंहरूले मार्नुहुन्छ र घरमा आगो लगाउनुहुन्छ भन्ने विश्वास गर्दिनँ ।
त्यसैले सुरक्षाकर्मी र निकट सहयोगी साथीहरूले जोड गर्दा गर्दै पनि आत्मविश्वासपूर्वक घरमै बसेर तपाईंहरूको आन्दोलनलाई हौसला दिंदै थिएँ । पन्ध्र मिनेट अगाडि मात्र सुरक्षाकर्मी र सहयोगीहरूले जोडबल गरेर ननिकालेको भए 96 बर्षीय पिता सहित एकै चिहान हुनेरहेछौं ।
आखिर ती बाहिरबाट आएका मानिसहरू को थिए? सुने अनुसार कतिपयले विशेष रंगको स्कार्फ पनि लगाएका थिए रे! तपाईं Gen-Z का युवाहरू जस्ता देखिने कोही थिएनन् रे!
अब अलिकति वैदेशिक रोजगारीमा जान बाध्य हुनुभएका युवा साथीहरूसंग! तपाईं सधैं स्वदेश फर्कदा मलाई नयाँ नयाँ किताबको कोसेली ल्याइदिनुहुन्छ। ती किताब नै मेरा सम्पत्ति हुन्! अब ती किताब सबै खरानी भए रे!
धन्न निस्कने वेलामा 21 औं शताब्दीका डार्विन भनिने Edward O. Wilson को चर्चित पुरानो पुस्तक THE HUMAN NATURE लिएर निस्कन भ्याएँ! अहिले किन मान्छेमा परोपकारी र स्वार्थी गुण संगसंगै हुन्छ भन्ने पढ्दैछु र अझै राम्ररी बुझ्दैछु।
Gen-Z लाई पनि काम लाग्ला कि?






