काठमाडौं । हास्यकलाकार तथा धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेल (धुर्मुस) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाका कारण आफूहरूले भोगेको सास्ती, आर्थिक सङ्कट र राज्यबाट भएको असहयोग बारे सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन् ।
उनले निरन्तरको सरकारी झमेला र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वबाट मुक्ति नपाएपछि अन्तत: छोरीको उपचारका लागि अमेरिका जान बाध्य भएको बताएका हुन् ।
२०७२ सालको महाभूकम्पपछि सामाजिक कर्ममा होमिएका कट्टेलले क्रिकेटप्रेमी जनताको आग्रह र तत्कालीन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित सबै नेताहरूको प्रोत्साहनमा रंगशाला निर्माणमा जुटेको बताएका छन् ।
भरतपुर महानगरपालिकाले अगुवाइ लिन अनुरोध गरी जग्गा समेत उपलब्ध गराएको र महानगरसँग भएको सहमतिपत्रमा स्रोत जुट्न नसके दायित्व दुवै पक्षको रहने उल्लेख रहेको उनको भनाई छ ।
तर, ६९ करोड कबोल भएको महायज्ञबाट जम्मा ९ करोड ४१ लाख मात्र उठ्यो । सरकारी निकायबाट प्रतिबद्धता गरिएका ठुला रकम पनि निकासा नभएको उनले गुनासो गरेका छन् ।
उनले लेखेका छन्, ‘३० करोड कबोल गरेको बागमती प्रदेश सरकारले ३ करोड मात्र दियो । फाउन्डेसनले करिब ६० करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी महानगरलाई हस्तान्तरण गरेपनि महानगरको अडिट रिपोर्ट अनुसारको १८ करोड ४३ लाख रुपैयाँ बक्यौता रकम भने भुक्तानी भएन ।’
उनले राज्यले सम्पत्ति सकार्न मिल्ने तर दायित्व सकार्न नमिल्ने अवस्थालाई ‘विडम्बना’ भनेका छन् । रंगशालाको काममा अख्तियारसम्मबाट ‘क्लिन चिट’ पाएर पनि आफूलाई ‘ठग’को उपमा दिइएकोमा उनले दु:ख व्यक्त गरेका छन् । उनले महानगरलाई स्वामित्व हस्तान्तरण गर्दा दायित्व एक महिनाभित्र फरफारक गर्ने प्रतिबद्धता जनाइएको भएपनि त्यो पूरा नभएको बताएका छन् ।
केन्द्र सरकारबाट पटकपटक मन्त्रिपरिषद्ले निर्णय गरेर उपलब्ध गराउने भनिएको अनुदान र बजेटमा राखिएको रकम समेत प्रक्रियागत त्रुटि र सरकारी निकायको टालटुले नीतिका कारण पटकपटक फ्रिज भएर फिर्ता गएको उनले स्पष्ट पारेका छन् ।
पाँच वर्षसम्म प्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारीको दैलो धाउँदा पनि समस्या समाधान नभएपछि आफू शारीरिक र मानसिक रूपमा थकित बनेको जिकिर गरेका छन् । यही तनावका बिच छोरी सुविहानीको जटिल स्वास्थ्य समस्या (म्यानेन्जाईटिसका कारण खुट्टा छोटो हुनु) को उपचारमा समेत ढिलाइ भयो ।
छोरीको उच्च प्रविधियुक्त र सुरक्षित उपचार नेपालमा सम्भव नभएको र आर्थिक हैसियत कमजोर भएपछि बाध्य भएर अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ मार्फत नि:शुल्क उपचार सुविधा लिन उनी अमेरिका गएको उनले जिकिर गरेका छन् ।
कट्टेलले आफू भागेको नभई परिस्थितिको दास बनेर बाध्यताले अमेरिका जानुपरेको र छोरीको उपचारपछि नेपाल फर्केर कलाकारितामा लाग्ने बताएका छन् । उनले राज्यले रंगशालाको समस्या समाधान गरी आफूहरूलाई कलाकारितामा फर्किने वातावरण बनाइदिन विनम्र अनुरोध गरेका छन् । ‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन,’ उनले भनेका छन् ।
के हो ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ ?
‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ ले ईबी-१ए (रोजगारमा आधारित, पहिलो प्राथमिकता, वर्ग ‘क’) लाई जनाउँछ। यो कार्ड विज्ञान, कला, शिक्षा, व्यवसाय वा खेलकुदका क्षेत्रमा निरन्तर राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेका व्यक्तिहरूका लागि हो ।
यसका लागि आवेदकले उत्कृष्ट उपलब्धि (जस्तै: कुनै ठूलो पुरस्कार जितेको वा १० वटा मापदण्डमध्ये कम्तीमा ३ वटा पूरा गरेको) को प्रमाण पेस गर्नुपर्छ र अमेरिकामा आफ्नो कामलाई निरन्तरता दिने मनसाय देखाउनुपर्छ । यो भिसा श्रेणीले श्रम प्रमाणीकरण वा जागिरको प्रस्ताव बिना नै स्थायी बसोबास प्राप्त गर्ने बाटो प्रदान गर्दछ ।






