एजेन्सी । बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सनबर्न महोत्सवमा जाँदै गर्दा कार दुर्घटनामा परेकी छिन् । मुम्बई प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका एक चालकले आफ्नो कार उनको गाडीमा ठोक्काएका थिए । यसबाट नोरालाई हल्का चोट लागेको थियो र उनले मस्तिष्कमा सानो झटका (कन्कसन) बेहोरेकी थिइन् ।
उनलाई तुरुन्त नजिकैको अस्पताल लगिएको थियो जहाँ सिटी स्क्यान गरियो र कुनै गम्भीर चोट नभएको पुष्टि भयो । दुर्घटना भएपनि आराम गर्न चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दै उनले महोत्सवमा आफ्नो प्रस्तुति दिएको थिइन् ।
‘उनलाई तुरुन्तै प्राथमिक उपचारको लागि नजिकैको अस्पताल लगिएको थियो, जहाँ उनको अवस्था स्थिर रहेको पुष्टि भयो । मादक पदार्थ सेवन गरी गाडी चलाउने चालक विरुद्ध मुद्दा दर्ता गरिएको थियो र उनलाई हिरासतमा लिइएको थियो,’ मुम्बई प्रहरीले भनेको छ ।
प्रहरीले ती चालकविरुद्ध मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरबाहीपूर्ण तरिकाले गाडी चलाएको आरोपमा मुद्दा चलाएको छ । परम्परागत रूपमा गोवामा आयोजना हुने सनबर्न महोत्सव यो वर्ष पहिलो पटक मुम्बईमा भएको हो, जुन डिसेम्बर १९ देखि २१ सम्म चलेको थियो ।






