एजेन्सी । जोर्नी दुखाइ धेरैको समस्या बनिरहेको छ । कतिले उपचार गर्छन् भने कतिले सामान्य ठानेर बेवास्ता गर्छन् । व्यायामका समय हुने जोर्नीको दुखाई अधिकांश मानिसहरूले बेवास्ता गर्ने गर्छन् । व्यायामकै कारण दुखाइ भएको हुनसक्ने अनुमानका भरमा मानिसहरू चिकित्सकिय परामर्श समेत आवश्यक ठान्दैनन् ।
जोर्नी दुखाइ वृद्धवृद्धाहरूको मात्रै समस्या रहेको युवाहरूको बुझाइ छ । तर यी समस्याको बेवास्ता गर्नुहुँदैन । बारम्बार जोर्नीको दुखाइ हुने समस्या देखिए उचित सावधानी अपनाउनुका साथै तुरून्तै उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
यो रोगका बिरामीहरूमा प्रायः ज्वरो आउने, मांसपेसीहरूमा पीडा हुने, प्रायस् थकित महसुस हुने, भोक कम लाग्ने, तौल कम हुँदै जाने लक्षणहरू देखिन्छन् । विशेषगरी बिहानीको समय शरीरका विभिन्न जोर्नीहरूमा यति धेरै पीडा हुन्छ कि, चलमलाउन समेत धेरै समस्या हुने गर्छ । जोर्नीमा जहाँ-जहाँ दुख्छ, त्यहाँ सुन्निनु पनि यो रोगको विशेषता हो । जोर्नीको वरिपरि स-साना गाँठाहरू पनि देखा पर्छन्, जहाँ हातखुट्टा चल्मलाउँदा समेत आवाज आउने हुन्छ । शरीरको कुनै पनि भाग चलमलाउँदा दुख्ने, पोल्ने, सुन्निने पनि हुन्छ ।
दुखाइबाट बच्नका लागि तातोपानीले नुहाउने, अधिक वजनका कारण घुँडा र कम्मरमा दबाब पर्ने हुँदा आफ्नो तौल सधैँ नियन्त्रणमा राख्ने, यदि तपाईं यसको औषधि लिइरहनु भएको छ भने, त्यसलाई समयमै लिनुहोस् । यसले पीडामा राहत दिन्छ ।
यस्तै व्यायाम र योगाले पनि धेरै फाइदा पुर्याउँछ । तर यसो गर्नका लागि विज्ञहरूको सल्लाह आवश्यक छ । प्रशस्त पानी पिउने गर्नुपर्छ ।धम्रपान, मद्यपान त्याग्ने, पोषणयुक्त आहार लिने, रोगबाट छिट्टै छुट्कारा पाउन डाक्टरसँग परामर्श लिने गरेमा जाेर्नी दुखाइबाट बच्न सकिन्छ ।
यसका घरेलु उपचार पनि छन् । दुखाइबाट छुट्कारा पाउन जैतुनको तेलले मालिस गर्ने, यसले राहत दिलाउँछ । स्टिम बाथ र मालिस यसका लागि धेरै फाइदाजनक हुन्छ । दैनिक अदुवाको पाउडरले पनि दुखाइमा राहत दिन्छ । यो समस्या निदानका लागि पेट सफा राख्नु पनि महत्वपूर्ण हुन्छ । त्यसकारण फाइबरयुक्त खाना खानुहोस्, जसले बिहान पेट राम्रोसँग सफा गर्छ ।






