म विष्णु माझीको ठुलो फ्यान हुँ । हामी दोहोरी प्रतियोगीतामा सँगसँगै हिँड्ने गर्थ्याैँ । उहाँले मुख नछोप्दादेखि नै मैले चिनेकाे हुँ, उहाँ एक अग्रज कलाकार हुनुहुन्छ । महोत्सवहरुमा दोहोरी गाएको, टुक्काहरु भनेको सुनेरै म उहाँको फ्यान भएको हुँ ।
महाेत्सव, प्रतियाेगीतामा सुन्दरमणि दाइले उहाँलाई लिएर आउनुहुन्थ्यो । हाम्रो त ड्रेस पनि साटासाट हुन्थ्यो । ड्रेस नपुग्दा पालैपालो लगाउने गर्थ्याैँ । दोहोरी प्रतियोगीतामा हिँड्दा उहाँसँग भेट भइरहन्थ्यो । तर उहाँ त्यस्तो कुराकानी गर्ने, खुल्ने मान्छे होइन । हालखबर मात्र सोधिन्थ्यो ।
पहिलो भेट बुटवलमा भएको हो, त्यतिबेला एउटै होटलमा बसेका थियौँ । पछिल्लो पटक उहाँले मुख छोपेर हिँडेको लगायतका कुराहरु बाहिर आए । उहाँले अनुहार देखाउनु भयो भने त उहाँको भ्यालु पनि हुँदैन हाेला नि, अहिलेको जस्तो । मानिसहरुमा उत्सुकता र चर्चा पनि हुने थिएन होला । त्यसमाथि उहाँको स्वभाव पनि सोसियल छैन । खासै कसैसँग घुलमिल हुनुहुन्न, शान्त बस्नुहुन्छ ।
विष्णु माझी सुपरस्टार जस्तो लाग्छ मलाई । उहाँको फ्यानहरु यति धेरै छन् कि उहाँले अनुहार देखाउन जरुरी नै छैन । उहाँको रेट धेरै भएका कारण धेरै गीतहरु आएका छैनन्, कहिलेकाहीँ आउँदा पनि निकै हिट हुन्छ ।
सुन्दरमणि अधिकारी दाइ पनि निकै राम्रो सिर्जना गर्नुहुन्छ । उहाँले लेखेको गीतहरु मलाई निकै मन पर्छ । उहाँहरु दुवै जना एकअर्काको परिपुरक हुनुहुन्छ । म उहाँहरुको सबै गीत सुन्छु ।
मलाई सुन्दरमणि दाईले विष्णु माझीलाई लुकाएर राखेको, हिंसा गरेको भन्ने लाग्दैन । ती आरोपहरु गलत हुन् जस्तो लाग्छ । हामी नेपालीहरुको बानी नै कुरा काट्ने छ । विष्णु माझीले अनुहार देखाएन समस्या । ज्योति मगर जताततै छायो, त्यसमा पनि समस्या । जहाँ पनि समस्या, जे गरेपनि समस्या । राम्राेसँग कुरा नबुझेसम्म अरूकाे जीवनबारे बाेल्नु उचित हुँदैन ।
(गायिका ज्याेति मगरले एक युट्युब अन्तर्वार्तामा गरेकाे कुराकानीमा आधारित)






