काठमाडौं । नेपाली सेनाले आफ्नो रिक्त दरबन्दी पूर्ति गर्न ४ हजार ५ सय जनाका लागि आवेदन आह्वान गरेको छ । जङ्गी अड्डा, भर्ना छनोट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो ।
सेनाले सैन्य पदका अतिरिक्त बन्दोबस्ती कार्य सिपाही (ब.का.सि), सुचिकार, सरसफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी जस्ता विशेष सीप भएका पदहरूमा पनि दरखास्त मागेको छ ।
सेनाले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने लक्ष्य राखेको यस भर्ना अभियानमा देशभरका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । इच्छुक उम्मेदवारहरूले सेनाले तोकेका विभिन्न भर्ना छनोट केन्द्रहरूमा भौतिक रूपमा उपस्थित भई आवेदन दिनुपर्नेछ ।
सूचना अनुसार आजै अर्थात् वैशाख १८ गतेदेखि सुरु भएको यो आवेदन प्रक्रिया आगामी जेठ १६ गतेसम्म कायम रहनेछ । नेपाली सेनाले आफ्नो संगठनलाई सुदृढ बनाउन र रिक्त पदहरू समयमै पूर्ति गर्न ठूलो संख्यामा जनशक्ति माग गरेको जनाएको छ ।
तोकिएको समयसीमा भित्र र तोकिएका मापदण्ड पूरा गरी दरखास्त दिने उम्मेदवारहरूलाई विभिन्न चरणको छनोट प्रक्रियामा सामेल गरिनेछ । सुरक्षा निकायमा करियर बनाउन चाहने युवाहरूका लागि यो एक महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।






