काठमाडाैं । गत शनिबार प्रसारण भएकाे ‘कमेडी च्याम्पियन २’ मा वरिष्ठ हाँस्य कलाकार एवम् शाे का जज सन्ताेष पन्त विवादमा तानिए । शाे का प्रतिस्पर्धी विक्की अग्रवालकाे ‘पेन्टोमाइम’ प्रस्तुतीमा दिएकाे प्रतिक्रियाले उनी विवादमा तानिएका हुन् । उनकाे प्रतिक्रियाले विक्कीकाे को मात्रै आँखा रसाएनन्, उनका समर्थकहरु पनि भावुक बने ।
नबोली गरिने उनकाे ‘पेन्टोमाइम’ प्रस्तुती धेरैले मन पराए तर सन्ताेष पन्तले नबुझेकाे प्रतिक्रिया दिएका थिए । उनकाे प्रतिक्रियापछि सामाजिक सञ्जाल पुरै विक्कीकाे समर्थनमा उत्रियाे । यद्यपी हाँस्य कलाकार दीपक राज गिरी र दीपाश्री निराैला भने सन्ताेष पन्तकाे पक्षमा उभिए ।
‘न्यायलयको होस् या रियालिटी शोको नै किन नहोस्, निर्णायकको भूमिका सधैँ नै चुनौतीपूर्ण हुन्छ । निर्णायकको भनाईले आयोजक र आम जनताको प्रतिनिधित्व गर्न सक्दैन । यो नितान्त उहाँको व्यक्तिगत धारणा हो । सन्तोष पन्त मेरो त पेशाको हिसाबले बुबा हुनुहुन्छ । उहाँमाथि म केही पनि टिप्पणी गर्न नै सक्दिनँ’, कमेडी च्याम्पियनको नयाँ भागमा अतिथी बनेर पुगेका दीपकले भने, ‘मेरो बुबाको भन्दा केही बढी शब्द मलाई थाहा होला । तर, म बुबा भन्दा महान् होइन । बुबालाई पनि सम्मान गरौं । यो कुरालाई विवादमा नतानौं ।’
यस्तै दीपाले सन्तोष पन्तको टिप्पणीले हाँस्य व्यंग्य क्षेत्रको नै अपमान भयो भन्नु गलत भएकाे धारणा राखिन् ।
शनिबारकाे शाे मा सबै जजले विक्कीकाे उत्कृष्ट प्रस्तुती भनेर तारिफ गरिरहँदा जज पन्तले भने यस्तो किसिमको कमेडी नेपालीले नबुझ्ने र आफूले पनि नबुझेको प्रतिक्रिया दिएका थिए । उनको प्रक्रियापछि विक्कीले आँखाको आँशु पुछ्दै भनेका थिए, ‘म प्रस्तुती सुरु हुनुभन्दा अगाडी सम्म पनि कन्फ्युज थिएँ, प्यान्टोमाइम गर्ने या स्ट्यानडअप गर्ने भनेर । तर मैले निस्कनु परे पनि प्यान्टोमाइन नै गर्ने निर्णय गरेँ । मलाई जिरो पर्सेन्ट पनि रिग्रेट छैन ।’




