काठमाडाैं । बलिउड कलाकार तथा ‘बीग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको निधन भएकाे छ । कलाकार शुक्लाकाे हृदयघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
४० वर्षीय शुक्लाको पार्थिव शरीर अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि अन्त्येष्टि गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।
सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए । उनले २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।
सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’ को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्ट समेत गरेका थिए ।
सिद्धार्थ शुक्लाको अन्तिम ‘पोस्ट’
उनको निधन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए । उनले लेखेका छन्, ‘सबै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद । तपाईंहरु आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बिरामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनुहुँदैन । तपाईंहरु वास्तवमा महान हुनुहुन्छ ।’
उनले अगाडि लेखेका छन्, ‘अग्रपंक्तिमा रहन सहज छैन । तर वास्तवमा तपाईंहरुको प्रयास सह्रानिय छ । #MumbaiDiariesOnPrime यी सुपरहिरोका लागि सेतो टोपी, नर्सिङ स्टाफ र उनीहरुको अतुलनीय बलिदानका लागि एक श्रद्धाञ्जली । २५ अगस्ट ट्रेलर आउट #TheHeroesWeOwe.’




