एजेन्सी । बलिउड कलाकार सिद्धार्थ शुक्लाले अन्तिम पटक करण कुन्द्रासँग फोनमा कुराकानी गरेको खुलेको छ । करणले नै यसबारे खुलाएका हुन् । करण र सिद्धार्थले ‘ये रिश्ता क्या कहलाता है’ मा सँगै काम गरेका थिए ।
उनले भनेका छन् – ‘स्तब्ध । हिजो राति मात्रै हामीले फोनमा कुराकानी गरेका थियौँ । हामी दुवैले इन्ड्रस्टिमा राम्रो गरिरहेको विषयमा कुराकानी गरिरहेका थियौँ । मैले विश्वास नै गर्न सकिरहेको छैन । साथी, तिमी छिटो गयौ । तिमी सधैँ याद आउनेछौ । सधैँ हाँसीखुशी रहनू । म धेरै दुःखी छु ।’
‘बीग बोस १३’ का विजेता समेत रहेका शुक्लाको आज (बिहीबार) ४० वर्षका उमेरमा निधन भएको हो । मुम्बईको कूपर अस्पतालले उनलाई मृत घोषणा गरेको हो । राति सुत्नुअघि उनले केही औषधि लिएका थिए, बिहान उनी उठ्न सकेनन् ।

सिद्धार्थले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए । उनले २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।
सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’ को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्ट समेत गरेका थिए ।




