काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखा नक्सालले खुला प्रतियोगितात्मक परीक्षामार्फत समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
नयाँ भर्नाअन्तर्गत प्रहरी सहायक निरीक्षक (एएसआई) जनपदतर्फ २११ पद छुट्याइएको छ । त्यस्तै, प्रहरी कार्यालय सहयोगीअन्तर्गत भान्से ८३, हजाम १५ र कुचीकार २५ गरी थप १२३ पदमा आवेदन माग गरिएको छ । भर्नाका लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रहरी सहायक निरीक्षक पदका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ । प्रहरी कार्यालय सहयोगी पदका लागि भने तोकिएको कार्यालय समयभित्र सम्बन्धित स्थानमा उपस्थित भएर आवेदन दर्ता गर्नुपर्नेछ । भर्नासम्बन्धी थप विवरण, आवश्यक योग्यता, परीक्षा प्रक्रिया र आवेदनसम्बन्धी जानकारी नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।




