रौतहट । रौतहटको राजपुरमा तीनवटा खुट्टा भएको नवजात बालिकाको जन्म भएपछि स्थानीय क्षेत्रमा चासो बढेको छ । राजपुर नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान करिब ५ बजे २८ वर्षीया नुसिदा खातुनले सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएकी हुन् ।
गुजरा नगरपालिका ८ कनकपुर निवासी खातुन राजपुर नगरपालिका ३ डमार चोकका सेख मोसाफिरकी छोरी हुन् । स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी रामेश्वर मिश्रका अनुसार नवजात शिशुको तौल तीन किलोग्राम छ । जन्मलगत्तै गरिएको प्रारम्भिक परीक्षणमा बालिकाको अवस्था सामान्य पाइएको उनले बताए ।
बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रे खुट्टामा अर्को अतिरिक्त खुट्टा जोडिएको छ । उक्त अतिरिक्त खुट्टा अन्य दुईको तुलनामा केही पातलो भए पनि त्यसमा नङसमेत रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
स्वास्थ्यकर्मी आजाद हुसैनका अनुसार शिशुको असामान्य शारीरिक अवस्थालाई ध्यानमा राख्दै थप परीक्षण र उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लैजान चिकित्सकीय सल्लाह दिइएको थियो । तर, परिवारका सदस्यहरूले आपसी सल्लाहपछि स्वास्थ्य केन्द्रबाट शिशुलाई लिएर गएको बताइएको छ ।
घटनाबारे जानकारी पाएपछि राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजीक आलमले स्वास्थ्यकर्मीहरूको कार्यसम्पादनको प्रशंसा गरेका छन् । उनले जटिल अवस्थाको शिशुको जन्मपछि तत्काल आवश्यक प्रक्रिया पूरा गरी थप उपचारका लागि रेफर गर्ने तयारी गरेको भन्दै स्वास्थ्यकर्मी तथा प्रसूति सेवामा संलग्न नर्सिङ कर्मचारीहरूको प्रशंसा गरेका हुन् ।
नगरप्रमुख आलमले स्वास्थ्यकर्मीहरूको तत्परता, जिम्मेवारी र सेवाभावप्रति सम्मान व्यक्त गर्दै नवजात बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यद्यपि, बालिकाको शरीरमा अतिरिक्त खुट्टा जोडिनुको कारण र त्यसको उपचार सम्भावनाबारे विस्तृत जानकारी चिकित्सकीय परीक्षणपछि मात्रै खुल्नेछ ।




