बारा । बारा जिल्लाको पचरौता नगरपालिका ५ इनर्वामा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पीडित पक्षका अनुसार गत कात्तिक ११ गते बुधबार बिहान करिब ११:४५ बजे मोबारेक मियाँकी पत्नी सिकिन्द्र खातुनलाई स्थानीय केही व्यक्तिले ‘तिमी बोक्सी हौ’ भन्दै घेरा हालेर कुटपिट गरेका थिए ।
उनीहरूले ज्यानै लिने उद्देश्यले आक्रमण गरेको पीडित पक्षको आरोप छ । उक्त घटनामा तबारक मियाँ धुनियाका छोरा कलाम मियाँ धुनिया, सर्फुन खातुन, अपसाना खातुन र रोकसाना खातुन संलग्न रहेको पीडित पक्षले आरोप लगाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएकी खातुनलाई स्थानीयको सहयोगमा सुरुमा बेलदारीस्थित नगर अस्पताल लगिएको थियो । तर, स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा रिफर गरिएको उनका छोरा समिरुल मन्सुरीले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय सिम्रौनगढमा उजुरी दिएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव साहले आफू काम विशेषले शुक्रबार दिउँसो कार्यालयबाहिर रहेकाले घटनाबारे विस्तृत जानकारी लिन नसकेको बताए । उनले घटनाको वास्तविकता बुझेर दोषी देखिएकाहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्धविश्वासको आडमा महिलामाथि हिंसा
एक्काइसौँ शताब्दीमा पनि बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गरिनु सभ्य समाजका लागि गम्भीर चिन्ताको विषय हो । अन्धविश्वास र कुरीतिको आडमा महिलालाई अपमानित गर्ने, कुटपिट गर्ने तथा ज्यान जोखिममा पार्ने घटनाले समाजमा विद्यमान विकृति र कानुनी कार्यान्वयनको अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् ।
पीडित परिवारले घटनामा संलग्न व्यक्तिहरूलाई राजनीतिक वा अन्य दबाबका आधारमा जोगाउने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
कानुनले बोक्सीको आरोप लगाई अपमान, दुर्व्यवहार तथा हिंसा गर्नुलाई दण्डनीय कसुर मानेको छ । त्यसैले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै पीडित महिलाको उचित उपचार, सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो ।




