वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका तरकारी तथा फलफूलको थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको समयसीमा दिएको छ । महानगरपालिकाले वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा आगामी मंसिर २ गतेभित्र स्थानान्तरण भइसक्न व्यवसायीलाई निर्देशन दिएको हो ।
महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र विभिन्न स्थानमा छरिएर थोक कारोबार गरिरहेका सबै व्यवसायीलाई तोकिएको स्थानमा सर्न भनेको हो । निर्धारित स्थानबाहेक अन्यत्र जथाभावी थोक बजार सन्चालन गर्न तथा बजार लगाउन समेत रोक लगाइएको सूचनामा उल्लेख छ ।
विभिन्न सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा तरकारी र फलफूलको थोक कारोबार हुँदा बजार व्यवस्थापन, यातायात सन्चालन तथा उपभोक्ताको सहज पहुँचमा समस्या उत्पन्न हुन सक्ने महानगरपालिकाको भनाइ छ । यस्ता समस्या न्यूनीकरण गर्न थोक कारोबारलाई एकै स्थानमा केन्द्रित गर्न लागिएको महानगरले जनाएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा निर्धारित समयभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । तोकिएको समयसीमाभित्र बजार नसार्दा उत्पन्न हुने क्षतिको जिम्मेवारी समेत सम्बन्धित व्यवसायीले नै लिनुपर्ने सूचनामा उल्लेख छ ।
महानगरपालिकाले वीरगन्जलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियानअन्तर्गत सार्वजनिक स्थानको अतिक्रमण नियन्त्रण, बजार व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ । व्यवसायीलाई निर्धारित स्थानमै कारोबार सञ्चालन गरी महानगरको बजार व्यवस्थापन अभियानमा सहयोग गर्न समेत आग्रह गरेको छ ।




