काठमाडौं । बाइनान्समार्फत दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा २८ वर्षीय सुनिल कुमार यादव पक्राउ परेका छन् । धनुषाको सबैला नगरपालिका १२ स्थायी घर भएका यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यादवले बाइनान्स आईडीमार्फत दुई करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी बराबरको कारोबार गरेका थिए । उक्त रकम नेपाली रुपैयाँमा दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबर हुन्छ ।
नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो ।
सोही सूचनाका आधारमा प्रहरीले सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा यादवको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) र दफा २६२ (क) को उपदफा १ (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अनुसार अनुसन्धान भइरहेको छ ।
प्रहरीले यादवलाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाएको छ ।




