रौतहट । रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ । दुर्घटनामा प्रहरी जवान सुभाष चौधरीको ज्यान गएको छ भने मोटरसाइकलमा सवार उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन् ।
फतुवा विजयपुर नगरपालिका ११ स्थित राङ्गी टोलमा बिहीबार साँझ करिब ६:३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ गइरहेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका ४ पोखरभिन्डा निवासी ३५ वर्षीय सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा खड्का घाइते भएका थिए । दुवैलाई तत्काल एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकको प्रयास सफल हुन सकेन ।
उपचारकै क्रममा बिहीबार राति ८:१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । उनकी श्रीमती खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी जवान रहेको खुलेको छ ।
घटनाले प्रहरी संगठनमा समेत दु:खद अवस्था सिर्जना गरेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।




