काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका १ बाघफलमा श्रीमान् श्रीमतीबीच झगडा तथा कुटपिट हुँदा श्रीमान्को मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कात्तिक ११ गते राति करिब १ बजे ५३ वर्षीय टेकबहादुर मुक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मुक्तानबीच झगडा तथा कुटपिट भएको थियो ।
उक्त घटनामा टेकबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धानका लागि मृतकका छोरा सुरेन्द्र मुक्तानले बुधबार दिएको उजुरीका आधारमा प्रहरीले प्रेमकुमारीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी प्रेमकुमारीलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




