सर्लाही । सर्लाहीको हरिवन बजारस्थित रिद्धीसिद्धी ज्वेलर्समा चोरी गरेको आरोपमा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाका २५ वर्षीय जुनैद अन्सारी र २८ वर्षीय रियाज अन्सारी रहेका छन् ।
हरिवन नगरपालिका ११ स्थित महेन्द्र राजमार्ग छेउमा रहेको उक्त सुनचाँदी पसलमा बुधबार राति चोरी भएको थियो । हरिवन नगरपालिका ७ का सुरज साहले सञ्चालन गर्दै आएको पसलबाट सुनका गरगहना चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाका अनुसार चोरीमा संलग्न रहेको आरोप लागेका दुवै जनालाई बिहीबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको हो ।
उनीहरूले चोरी गरेका गरगहना कोठामा राखेर पुनः अन्य पसलमा चोरी गर्न गएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जुनैद भारतको आदापुर पञ्चायत औरहिया ११ र रियाज झरोखर पञ्चायत आठमोहनी १२ का बासिन्दा हुन् ।
प्रहरीका अनुसार उनीहरू पाँच दिनअघि मात्रै हरिवन आएका थिए । कपडाको व्यापार गर्ने भन्दै कोठा भाडामा लिएर बसेका उनीहरूले बुधबार राति कपडा झार्न लागेको भन्दै घरबेटीलाई झुक्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बर्तौलाले बताए ।
प्रहरीले उनीहरूको साथबाट चोरी भएको भनिएका पेन्डल ३५ थान, औँठी चार थान, मोती क्लिप एक थान, चन्द्रमा आठ थान, खुकुरी एक थान, तिलहरी एक थान, नौगेडी एक थान, बेबी माला एक थान र कानका टप ३९ थान बरामद गरेको छ ।
त्यसैगरी सुनजस्तो देखिने नक्कली हार एक थान, फलाम काट्ने कटर एक थान र मोबाइल फोन एक थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ परेका दुवै जनालाई बिहिबार नै सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
उनीहरू यसअघि पनि अन्य चोरीका घटनामा संलग्न थिए वा थिएनन् भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




