काठमाडौं । जनकपुर बोल्ट्सका इंग्लिस अलराउन्डर मोइन अलीले टोलीका आइकोनिक खेलाडी राहुल यादवको बलिङको प्रशंसा गर्दै उनी भविष्यमा नेपालका लसिथ मलिङ्गा बन्न सक्ने बताएका छन् ।
बिहीबार भएको खेलपछि आयोजित पोस्ट-म्याच पत्रकार सम्मेलनमा बोल्दै मोइनले राहुलको बलिङ शैली र सम्भावनाबारे प्रशंसा गरेका हुन् । ‘उनले जसरी बलिङ गरिरहेका छन्, त्यसले उनको भविष्य राम्रो देखाउँछ । उनको स्लिङ बलिङ शैलीले उनी नेपालको मलिङ्गा बन्न सक्छन्,’ मोइनले भने ।
श्रीलंकाका पूर्व तीव्र गतिका बलर लसिथ मलिङ्गा आफ्नो विशिष्ट स्लिङ बलिङ शैलीका कारण विश्व क्रिकेटमा चर्चित छन् । उनको बलिङ शैलीसँग राहुलको शैली तुलना गर्दै मोइनले नेपाली खेलाडीको सम्भावनालाई उजागर गरेका हुन् ।
राहुलले बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएपछि जनकपुर बोल्ट्सले प्रतियोगितामा पहिलो जित हात पारेको थियो । उनको प्रभावशाली बलिङ प्रदर्शनका लागि उनी खेलको प्लेयर अफ द म्याच समेत घोषित भए ।




