रौतहट । नेपाली कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले किर्गिस्तानमा आयोजित छैटौँ विश्व नोमाड गेम्स २०२६ मा पाँचौँ स्थान हासिल गरेका छन् । कुस्ती विधाअन्तर्गत पुरुषतर्फ १०० केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरेका यादवले इन्डोनेसिया र अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए ।
तर, सेमिफाइनलमा आयोजक काजकिस्तानका खेलाडीसँग पराजित भएपछि उनी प्रतियोगितामा पाँचौँ स्थानमा सीमित भएका हुन् । रौतहटको गरुडा नगरपालिका पिपरिया घर भएका यादवले नेपालका तर्फबाट उक्त तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । उनका अनुसार प्रतियोगितामा ८५ देशका खेलाडी सहभागी थिए भने कुस्ती विधामा मात्रै ६५ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म आयोजना भएको विश्वस्तरीय कुस्ती तथा बेल्ट रेस्लिङ प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाएको हो । यादवसँगै नेपाली टोलीलाई प्रशिक्षकका रूपमा मुम्ताज अली इद्रिसीले साथ दिएका थिए । विश्वस्तरीय प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्दै पाँचौँ स्थान हासिल गर्नु नेपाली कुस्तीका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।
अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवसरले नेपाली खेलाडीको अनुभव, आत्मविश्वास र क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन जानुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरेका थिए ।
बिदाइ कार्यक्रममा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, महासचिव खगेन्द्रबहादुर बस्नेतलगायत खेल पदाधिकारीको उपस्थिति थियो । बिदाइका क्रममा खेल पदाधिकारीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका यादवलाई सफलताको शुभकामना दिएका थिए ।
सीमित स्रोत साधनका बीच नेपाली कुस्ती खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । विश्वस्तरीय प्रतियोगिताबाट प्राप्त अनुभवले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई अझ उत्कृष्ट प्रदर्शन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।




