सर्लाही । एसियन पेन्ट्स यू १८ फुटबल च्याम्पियनसिपको फाइनल चरणको उपाधि आइडियल इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । बयलबासस्थित नारायण माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा आइडियल इङ्लिस बोर्डिङ स्कुलले एभरेष्ट इङ्लिस बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा आइडियलले सुरुदेखि नै उत्कृष्ट पासिङ र टिम समन्वय प्रस्तुत गरेको थियो । खेलाडीबीचको राम्रो तालमेल र बलमाथिको नियन्त्रण कायम राख्दै आइडियलले निर्णायक गोल गर्न सफल भयो ।
एभरेष्टले खेलमा फर्किने प्रयास गरेपनि आइडियलको संगठित रक्षापंक्ति तोड्न सकेन । अन्तत: १–० को नतिजासँगै आइडियल इङ्लिस बोर्डिङ स्कुलले उपाधि उचालेको अखिल नेपाल फुटबल संघ (एन्फा) सर्लाहीका प्रशिक्षक श्याम कटवालले जानकारी दिए ।
फाइनल खेलको समापन समारोहमा हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जियार, ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यलगायत विभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमी, पूर्वखेलाडी र सुरक्षा निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
उपस्थित अतिथि तथा खेलप्रेमीहरूले प्रतियोगिताले स्थानीयस्तरमा यू १८ खेलाडीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुर्याउने बताएका थिए । विभिन्न विद्यालयका विद्यार्थी तथा खेलप्रेमीको उत्साहजनक सहभागिताबीच फाइनल खेल सम्पन्न भएको रोजित केसीले जानकारी दिए ।




