रौतहट । रौतहटको अजगैबी गाउँमा एउटा सानो जीर्ण झुपडी छ । बाँसको झ्याङले आधाभन्दा बढी छोपिएको उक्त झुपडीको बाहिर केही दिनयता गाउँलेहरूको चहलपहल बढेको छ । त्यहाँ कुनै उत्सव वा मेला लागेको होइन, गाउँकै १६ वर्षीय राहुल यादवले क्रिकेटको मैदानमा देखाएको जादु हेर्न र उनका परिवारलाई बधाई दिन मानिसहरू पुग्न थालेका हुन् ।
हिजोसम्म यही झुपडीमा बसेर टेलिभिजन र मोबाइलको पर्दामा ठूला क्रिकेटरहरूको खेल हेर्ने राहुल अहिले तिनै खेलाडीसँग एउटै मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सबाट खेलिरहेका राहुलको उत्कृष्ट बलिङले अहिले नेपाली क्रिकेट प्रेमीको ध्यान खिचेको छ ।
राहुलको नाम टेलिभिजन वा मोबाइलमा देखिना साथ उनका बुबा वीरबहादुर यादवको अनुहारमा खुसी छाउँछ । छोराको खेल हेर्न र उनको सफलताको खुसी साट्न गाउँलेहरू घरसम्म पुग्छन् । कुनै समय क्रिकेटलाई खासै महत्त्व नदिने वीरबहादुर अहिले छोराको प्रदर्शन देखेर गर्वले फुलेका छन् ।
‘पहिले मलाई क्रिकेटप्रति कुनै मतलब थिएन । खेलकुदमा के नै हुन्छ र भन्ने लाग्थ्यो,’ वीरबहादुर सम्झिन्छन्, ‘तर अहिले छोराले देशैभर आफ्नो नाम चिनाएको छ । टिभी र मोबाइलमा उसको खेल र चर्चा देख्दा छाती गर्वले चौडा हुन्छ । मेरो छोरा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम उच्च राखोस् भन्ने चाहना छ ।’
राहुलको यो सफलता एकै दिनमा प्राप्त भएको उपलब्धि होइन । यसका पछाडि वर्षौँको अभ्यास, पारिवारिक संघर्ष, आर्थिक अभाव र हार नमान्ने एउटा किशोरको दृढ इच्छाशक्ति जोडिएको छ ।
अभावबीच हुर्किएको क्रिकेटको सपना
राहुलको पारिवारिक अवस्था सामान्य छ । घरमा दुईवटा साना कोठा छन् भने परिवारको नाममा जम्मा १२ कठ्ठा खेतीयोग्य जमिन छ । परिवारको आम्दानीको भरपर्दो स्रोत छैन । घर खर्च चलाउन उनका जेठा दाजु कमलेश बुटवलस्थित एउटा अस्पतालमा काम गर्छन् । दिदी सकुन्तलाको विवाह भइसकेको छ । अहिले घरमा राहुलसँगै उनका बुबा वीरबहादुर र आमा पनापति देवी बस्छन् ।
यस्तो आर्थिक अवस्थाका बीच क्रिकेटलाई आफ्नो भविष्य बनाउने राहुलको सपना परिवारका लागि सुरुमा सहज थिएन । पढाइमा ध्यान दिनुपर्ने उमेरमा खेलमै बढी समय बिताउन थालेपछि बुबाआमाले उनलाई सम्झाउने गर्थे ।
आमा पनापति देवी ती दिन सम्झिँदै भन्छिन्, ‘सुरुमा हामीलाई छोराको कुरामा विश्वासै लाग्दैनथ्यो । पढाइमा ध्यान दिनुपर्छ भनेर सम्झाउँथ्यौँ । तर आज उसले खेलबाट परिवार र गाउँकै मन जितेको छ ।’
क्रिकेटप्रतिको राहुलको लगाव भने दिनप्रतिदिन बढ्दै गयो । उनले आफ्नो खेल निखार्न कुनै कसर बाँकी राखेनन् । चार वर्षयता विभिन्न प्रतियोगितामा जितेका ट्रफीहरू घरको एउटा कुनामा सानो डालीमा सजाएर राखिएका छन् । ती ट्रफी उनका लागि केवल पुरस्कार होइनन्, संघर्ष र मेहनतका सम्झना पनि हुन् ।
दुई वर्षअघि राहुलले क्रिकेट सिक्ने अवसर पाउन आफ्नै भागमा पर्ने जमिन बेच्न समेत बुबासँग आग्रह गरेका थिए । ‘बुबा, मेरो भागमा पर्ने जमिन बेचेर भएपनि मलाई राम्रो क्रिकेट सिक्ने अवसर मिलाइदिनुस् न,’ राहुलको आग्रह सम्झँदै वीरबहादुर भन्छन्, ‘आर्थिक अवस्थाका कारण जमिन बेच्न सकिएन, तर राहुलको मिहिनेत र इच्छाशक्तिमा कमी आएन ।’
१२ वर्षमै सुरु भएको यात्रा, दिल्ली र लखनउसम्म प्रशिक्षण
राहुलले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेका हुन् । स्थानीय प्रतियोगितामा खेल्दै आफ्नो क्षमता देखाउन थालेका उनले राम्रो खेलाडी बन्ने लक्ष्यसहित प्रशिक्षणलाई पनि निरन्तरता दिए । खेलमा थप निखार ल्याउन उनले एक वर्ष भारतको दिल्ली र अर्को एक वर्ष लखनउमा आधारभूत क्रिकेट प्रशिक्षण लिए ।
गाउँमा हुने प्रतियोगितामा उनको बलिङ सामना गर्न ब्याट्सम्यानहरूलाई कठिन हुने गरेको थियो । बाल्यकालदेखिका साथी दिपेश यादवका अनुसार राहुलको बलिङमा गति र नियन्त्रण दुवै छ । उनको यही क्षमताले उनलाई अन्य खेलाडीभन्दा फरक बनाउँदै लगेको थियो ।
चन्द्रपुर क्रिकेट एकेडेमीबाट क्रिकेट यात्रा अघि बढाएका राहुलले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो परिचय बनाएका थिए । गत वर्ष मधेश प्रदेशको अन्डर १६ प्रतियोगितामा उनी ‘म्यान अफ द सिरिज’ घोषित भएका थिए । चन्द्रपुरमा आयोजित प्रतियोगिताहरूमा पनि उनले म्यान अफ द म्याच र म्यान अफ द सिरिजका उपाधि जित्दै आएका थिए ।
४४६ खेलाडीबीच चम्किए, जनकपुर बोल्ट्ससम्म पुगे
स्थानीय प्रतियोगितामा देखाएको प्रदर्शनले राहुललाई राष्ट्रिय स्तरको अवसरसम्म पुर्यायो । उनको प्रतिभालाई थप पहिचान दिलाउन चन्द्रनिगाहपुरका क्रिकेटर देवराज कार्कीको पहल र चन्द्रपुर युवा क्लबको संयोजन महत्त्वपूर्ण बन्यो ।
गत २२ असोजमा चन्द्रपुर नगरपालिका ८ स्थित कोटीहोम क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले दुईदिने बन्द प्रशिक्षण तथा ट्यालेन्ट हन्ट आयोजना गरेको थियो । मोफसलका प्रतिभावान् खेलाडीलाई व्यावसायिक क्रिकेटमा अवसर दिने उद्देश्यले आयोजित उक्त छनोट प्रक्रियामा देशभरबाट ४४६ भन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए ।
कडा प्रतिस्पर्धाका बीच उत्कृष्ट प्रदर्शन गर्दै राहुल अन्तिम सात खेलाडीमा पर्न सफल भए । त्यसपछि उनी जनकपुर बोल्ट्समा आइकोनिक तथा उदीयमान खेलाडीका रूपमा आबद्ध भए । आर्थिक अभावका कारण अवसर खोज्न संघर्ष गरिरहेका राहुलका लागि यो छनोट व्यावसायिक क्रिकेटतर्फको महत्त्वपूर्ण ढोका बन्यो । मध्यम गतिमा बलिङ गर्ने विशेष क्षमता भएका उनले एनपीएलमा आफ्नो प्रतिभा प्रमाणित गर्ने अवसर पाए ।
एनपीएलमा चार विकेटको प्रदर्शनले तान्यो ध्यान
राहुलले एनपीएलमा गरेको प्रदर्शनले उनको प्रतिभालाई अझ फराकिलो मञ्चमा पुर्याएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा उनले काठमाडौंको बलियो ब्याटिङ लाइनअपविरुद्ध उत्कृष्ट बलिङ गरे ।
चार ओभर बलिङ गरेका राहुलले ३१ रन खर्चेर चार विकेट लिए । उनले कप्तान करण केसी, स्मित पटेल, साम हेजलेट र मोहम्मद आदिल आलमलाई आउट गर्दै आफ्नो क्षमता देखाए । यसअघि कर्णालीविरुद्धको डेब्यु खेलमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका थिए। उक्त खेलमा १५ रन खर्चेर दुई विकेट लिएका राहुलले आफ्नो बलिङबाट टोलीलाई योगदान दिएका थिए ।
उनको उत्कृष्ट प्रदर्शनसँगै जनकपुर बोल्ट्सले काठमाडौंविरुद्ध आठ विकेटको शानदार जित निकाल्यो । कम उमेरमै अनुभवी ब्याट्सम्यानहरूविरुद्ध देखाएको आत्मविश्वास र बलिङ कौशलले राहुललाई नेपाली क्रिकेटका उदाउँदा प्रतिभामध्ये एकका रूपमा स्थापित गर्न थालेको छ ।
एउटा झुपडीको सफलता, हजारौँ युवाका लागि प्रेरणा
रौतहटका पुराना क्रिकेटर बिकु सिंहका अनुसार राहुलको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन । हिजोसम्म गाउँको झुपडीमा बसेर टेलिभिजनमा ठूला खेलाडी हेर्ने किशोर आज तिनै खेलाडीसँग मैदानमा प्रतिस्पर्धा गरिरहेको दृश्य आफैँमा प्रेरणादायी छ ।
‘राहुलको यो छलाङ व्यक्तिगत सफलता मात्र होइन, साधन र स्रोतविहीन अवस्थामा पनि अगाडि बढ्न चाहने हजारौँ मोफसलका युवाका लागि प्रेरणा हो,’ उनी भन्छन् । छोराको सफलताले आमा पनापति देवीको मनमा पनि नयाँ आशा जगाएको छ । छोराले आफ्नै मेहनत र लगनशीलताबाट यो स्थान बनाएको भन्दै उनी भविष्यमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गर्छिन् ।
‘हामी गर्वका साथ भन्छौँ, हाम्रो छोराले आफ्नै मिहिनेतले यो स्थान बनाएको छ । उसले भविष्यमा अझै मिहिनेत गरेर देशको नाम उच्च राख्नेछ भन्ने विश्वास छ,’ उनी भन्छिन् । राहुलको यात्रा अझै लामो छ । एनपीएलमा देखिएको उनको प्रदर्शन भविष्यको सम्भावनाको एउटा संकेत मात्र हो ।
तर, आर्थिक अभावले भरिएको घरबाट निस्केर राष्ट्रिय क्रिकेटको मञ्चसम्म पुग्न उनले गरेको संघर्षले एउटा कुरा भने प्रमाणित गरेको छ- प्रतिभा अवसरको प्रतीक्षामा हुन्छ, त्यसलाई चिन्ने र अघि बढाउने वातावरण आवश्यक हुन्छ ।




