महोत्तरी । महोत्तरीको मनराशिस्वा नगरपालिका निवासी एकल महिला इन्दुकुमारी देवीले सहकारी संस्थामा जम्मा गरेको रकममध्ये आठ लाख रुपैयाँ फिर्ता पाउनुभएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीको पहलमा सहकारी सञ्चालक पक्ष र पीडितबीच सहमति भएपछि उहाँले पहिलो चरणमा उक्त रकम प्राप्त गर्नुभएको हो ।
वैदेशिक रोजगारीमा रहनुभएका उहाँका श्रीमान्को तीन वर्षअघि दुर्घटनामा निधन भएपछि प्राप्त भएको क्षतिपूर्तिबापतको १२ लाख रुपैयाँ उहाँले सहकारीमा जम्मा गर्नुभएको थियो ।
बढी ब्याज पाउने आशामा २०८० असार २४ गते औरहीस्थित सोनामाई बचत तथा ऋण सहकारी संस्थामा रकम राख्नुभएकी उहाँले सुरुका केही महिना ब्याजसमेत प्राप्त गर्नुभएको थियो । तर, पछि सहकारी संस्था बन्द भएपछि साँवा रकमसमेत फिर्ता पाउन नसक्दा उहाँ समस्यामा पर्नुभयो ।
बैंकमा बढीमा ६ प्रतिशतसम्म मात्रै ब्याज पाइने तर सहकारीले वार्षिक २४ प्रतिशत ब्याज दिने आश्वासन दिएपछि आफूले रकम जम्मा गरेको इन्दुकुमारीले बताउनुभयो । श्रीमान्को निधनपछि प्राप्त क्षतिपूर्तिको रकम नै आफ्नो र तीन जना नाबालिका छोरीको भविष्यको मुख्य आधार भएकाले सुरक्षित राख्ने उद्देश्यले सहकारीमा जम्मा गरेको उहाँको भनाइ छ ।
पुख्र्यौली सम्पत्तिका रूपमा तीन धुर घडेरी मात्रै रहेको र छोरीहरूको पालनपोषण तथा भविष्यको जिम्मेवारी समेत आफूले नै सम्हाल्नुपर्ने अवस्थामा सहकारी बन्द भएपछि आफू निकै तनावमा परेको उहाँले बताउनुभयो । रकम फिर्ता पाउने बाटो नदेखेपछि न्यायका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिएको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयमा पीडितको निवेदन परेपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलमा सहकारी सञ्चालक पक्ष र पीडितबीच पटक–पटक छलफल तथा संवाद भएको थियो । निरन्तरको प्रयासपछि सहमति जुटेपछि सहकारी पक्षले पहिलो चरणमा आठ लाख रुपैयाँ नगदै फिर्ता गरेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाँकी चार लाख रुपैयाँ र ब्याजसमेत मंसिर ४ गतेसम्म फिर्ता गर्ने सहमति भएको छ । लामो समयको तनावपछि रकम फिर्ता पाउँदा इन्दुकुमारीले खुसी व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालयप्रति आभार प्रकट गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवले पीडितलाई राहत उपलब्ध गराउनु प्रशासनको जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता समस्यामा परेका नागरिकलाई न्याय दिलाउन कार्यालयले आफ्नो दायित्व निष्ठापूर्वक निर्वाह गरिरहेको बताउनुभयो ।




