सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ५ सखूबनीमा खेलकुद पूर्वाधार विकास गर्ने उद्देश्यले सखूबनी युवा क्लबको खेल मैदान निर्माण कार्यको शिलान्यास गरिएको छ । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्यले खेल मैदानको शिलान्यास गर्दै स्थानीयवासीको मागलाई प्राथमिकता दिँदै खेल पूर्वाधार विस्तारको अभियानलाई अघि बढाइएको बताए ।
उनले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई स्थानीय तहबाट कार्यान्वयन गर्न खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गरे । नगरप्रमुख आचार्यले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने भएकाले स्थानीय सरकारले खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए ।
शिलान्यास कार्यक्रममा वडा सदस्य, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । सखूबनी युवा क्लबका अध्यक्ष उमेश आलेले विनियोजित बजेटबाट पहिलो चरणमा खेल मैदानको पर्खालसहित घेराबार, मैदान सम्याउने लगायतका पूर्वाधार निर्माण गरिने जानकारी दिए ।
उनले सखूबनीलाई भविष्यमा फुटबलको हबका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले देखाएको सहयोग प्रति आभार व्यक्त गरे । खेल मैदान स्तरोन्नतिको निर्माण जिम्मा रोशन इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले पाएको छ । कम्पनीले भ्याटसहित २५ लाख ६१ हजार ४५१ रुपैयाँ २५ पैसाको लागतमा आगामी मंसिर २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ईश्वरपुर नगरपालिकासँग सम्झौता गरेको छ ।
स्थानीयवासी बिनु श्रेष्ठसहित कार्यक्रममा सहभागीहरूले खेल मैदान निर्माणपछि स्थानीय स्तरमा खेल गतिविधि बढ्नुका साथै युवा पुस्ताले खेल प्रतिभा विकास गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए । निर्माण सम्पन्न भएपछि सखूबनी युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको क्लबका अध्यक्ष आलेले जानकारी दिए ।






